निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । संसद् विघटनलगत्तै आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले घोषित मितिमै निर्वाचन सम्पन्न गराउनेगरी तयारी थाल्न निर्देशनसमेत दिएका छन् ।

गएराति संसद् दोस्रो पटक विघटन गरेका ओलीले आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको समय तोकेका छन् । यसपछि घोषित मितिमै निर्वाचन गराउनेगरी तयारी थाल्न आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार पदाधिकारीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान सरकारी निवास बालुवाटारमा पदाधिकारीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीलाई उदधृत गर्दै थापाले भने— ‘निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढेको हो ।’

यसअघि गएराति प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद् विघटन गरेकी छन् । तत्पश्चात् यता विपक्षी गठबन्धन बनेको छ । उसले स्थनीय तहदेखि नै राजनीतिक प्रतिवाद गर्ने र अदालत लाने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले यसअघि गत वर्षको पुस ५ गते पनि संसद् विघटन गरेका थिए । त्यसपछि विपक्षी गठबन्धनहरुले दिएको मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाट गर्दै सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो । तर, प्रधानमन्त्री ओलीले पुनः दोस्रो पटक संसद् विघटन गरेका छन् ।

यसपछि यता विपक्षी नेताहरुले भने संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । ५ दलको संयुक्त बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका छन्— ‘हामीलाई विश्वास छ । अदालतले फेरि एकचोटी जनताको भावना र संविधानलाई केन्द्रमा राखेर फैसला गर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *