राष्ट्रपति र प्रधानमन्त्री संविधान समाप्त गर्न उद्धत : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर संविधान समाप्त पार्न खोजेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाले शनिवार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले संविधान समाप्त गर्न उद्दत देखिएको आरोप लगाएको हो । ‘राष्ट्रपति र प्रधानमन्त्री षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधानजस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् । देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ— ‘सरकार गठनपछि निरन्तर रुपले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’

यसअघि गएराति मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा दोस्रो पटक भङ्ग गरेकी छन् । यसपछि विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले कानुनी तथा राजनीतिक उपचार खोज्ने अठोट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *