एमाले स्थायी कमिटी बैठक : विपक्षी एमालेलाई कारबाही हुनसक्ने

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए । नेम्वाङ्गकाअनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

यता अर्का स्थायी कमिटी सदस्यकाअनुसार बैठकमा विपक्षी एमालेका नेताहरुलाई कारबाही गर्ने विषयमा छलफल हुनेछ । ती सदस्यले मकालु खबरसँग भने— ‘राष्ट्रिय सभाको चुनावसँगै अन्य पार्टीगत काम/कारबाहीमा विपक्षी एमालेले गरेको असहयोगबारे समीक्षा गर्ने र यस्तो अवस्थामा पार्टी कसरी बढ्ने भन्नेबारे छलफल हुन्छ ।’

उसो भए माधवकुमार नेपाल—झलनाथ खनाल पक्षलाई कारबाही गर्नुहुन्छ ? भन्ने प्रश्नमा ती सदस्यले भनेका छन्— ‘कारबाही नै गर्ने अथवा नगर्ने भन्नेबारे त बैठकले नै निर्णण गर्ला तर, ती विषयहरुमा छलफल चाहिँ अवश्य हुन्छ ।’

यसअघि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । यता विपक्षी दलहरुले कानुनी तथा राजनीतिक उपचार खोज्ने बताएका छन् । दोस्रो पटक भएको संसद् विघटनलाई प्रतिगमन २ को संज्ञा दिँदै दलहरु एकजुट बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *