कोभिडको लक्षण भएका बिरामीलाई दिइने औषधि कम हुँदै

विराटनगर । कोभिड-१९ को लक्षण देखिएका बिरामीलाई दिइने औषधिको कमी हुन थालेको छ । कोभिडको महामारी बढ्दै गएको अहिलेको समयमा, कोभिडको लक्षण देखिएका बिरामीलाई दिइने औषधी कम हुँदै गएकाले तत्काल उपलब्ध गराउन औषधि व्यवसायीले सरकारसँग माग गरेका छन् ।

औषधि व्यवसायी संघले कोरोनाले जनजीवन अस्तव्यस्त बनाएको अवस्थामा पनि ज्यान जोखिममा राखेर स्वास्थ्योपचारका लागि औषधिहरूको सहज व्यवस्थापनमा लागिरहेपनि अहिले बजारमा अत्यावश्यक औषधिहरू कम हुन थालेकाले तत्काल व्यवस्था गर्न औषधि व्यवस्था विभागसँग माग गरेको हो ।

बजामा धेरै प्रकारका औषधि पाउन छाडेको भन्दै संघले अत्यावश्यक खालका औषधि तत्काल उपलब्ध गराउन माग गरेको छ । औषधि पसलहरूमा केही जीवनरक्षक र अत्यावश्यक औषधिको कमी हुन थालेकाले यथाशीघ्र औषधिको आपूर्ति व्यवस्थापन गरिदिन विभागसँग माग गरेको संघका प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा अत्यावश्यक २२ प्रकारका औषधि कमी हुन थालेको छ । यसरी कमी भएका औषधीहरुमा अधिकांश कोभिडको लक्षण देखिएका बिरामीका लागि प्रयोग हुने खालका औषधि रहेको उनले बताए ।

पारासिटामोलको अभाव
सरकारले तोकेको मूल्यमा बिक्री गर्न नसकिने बताउँदै व्यवसायीले पारासिटामोलको उत्पादन बन्द गरेका छन् ।

पारासिटामोलको कच्चा पदार्थको मूल्य बढेको तर सरकारले मूल्य यथावत् राख्न भनेपछि नेपाली कम्पनीले उत्पादन बन्द गरेकाले कमी शुरु भएको व्यवसायी बताउँछन् । ‘अहिले पारासिटामोल बजारमा छैन,’ संघका प्रदेश अध्यक्ष खतिवडाले मकालुखबरसँग भने, ‘त्यसको विकल्पको रुपमा अरु पारासिटामोल मिसिएको आइबोप्रोफिन र निमुसुलाइट ट्याबलेट औषधि दिनुपर्ने बाध्यता छ ।’

समस्या समाधान हुन्छ : विभाग
औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले औषधि अभाव नभएको तर कमी हुन थालेको बताए ।

अहिले बजारमा कमी देखिएका औषधिमा ज्वरो, भिटामिन सी, कोभिडका लक्षण निको पार्ने खालका औषधि, टाउको दुख्ने, बान्ता आउने, रुघा, खोकीलगायतमा दिइने औषधीहरू तथा पारासिटामोल, जिंक ट्याब्लेट, क्याल्सियम ट्याब्लेट, अक्सीजन लेभल कम हुँदा दिइने औषधिहरू रहेको प्रमुख शर्माले बताए ।

औषधि उत्पादकले नेपालमा औषधी उत्पादनका लागि कच्चा पद्धार्थ बाहिरी देशबाट ल्याउन समस्या हुँदा उत्पादन घटेकाले पनि बजारमा औषधि कम भएको हुनसक्ने उनको भनाइ छ । ‘नियमित कच्चा पद्धार्थ नआउँदा समस्या छ भने होलसेलले धेरै परिमाणमा औषधि माग गर्दा पनि बजारमा औषधिको कमी हुन थालेको छ । त्यस्तै नागरिकले पनि अनावश्यक औषधि घरमा जम्मा गरिदिँदा पनि समस्या भएको हो‚’ उनले भने । बाहिरबाट पनि औषधि आउन नसकिरहेको विभागको भनाइ छ ।

थोरैमात्र आवश्यक हुने औषधि पनि अभाव हुने अवस्था आएको व्यवसायी बताउँछन् । औषधि व्यवस्था विभागले दैनिक औषधि उत्पादक तथा आयातकर्तासँग छलफल गरिरहेपनि ठोस निर्णय भने भइसकेको छैन ।

कोभिडकै कारणले मात्र नभई सबै संयन्त्र बन्द हुँदा सर्कुलेसनमा समस्या देखिएको विभागको भनाइ छ । आयात निर्यातलगायतका कारण पनि केही असहज अवस्था आएको छ तर तत्कालै समस्या आउन नदिन काम भइरहेको शर्माले मकालु खबरसँग बताए ।

‘औषधिको हाहाकार भएको वा कतै नपाइएको भन्ने होइन,’ उनले भने, ‘स्टकमा धेरै नभएको कारण चाँडो ल्याउनुपर्छ भन्ने कुरा हो, बजारमा औषधि पाउनै छाडेको अवस्था होइन स्टकमा कम हुँदै गएको हो‚’ उनले भने । स्वदेशी उत्पादक कम्पनीहरूसँग औषधि अभाव हुन नदिने बारेमा छलफल भइरहेकाले यो समस्याको तत्कालै समाधान हुने विभागका प्रमुख शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *