राष्ट्रिय सभा उपनिर्वाचन

प्रधानमन्त्रीलक्षित निर्वाचन आयोगको विज्ञप्ति : मौन अवधिमा मत माग्नु आचारसंहिताविपरीत

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा मत माग्नु आचारसंहिताविपरीत हुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै आयोगले प्रेस विज्ञप्ति जारी गरी यस्तो बताएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ— ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिताविपरीत वक्तव्य, दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’

यसअघि प्रधानमन्त्री ओलीले आफ्नो उम्मेदवार रामबहादुर थापालाई मत दिन एमालेसम्बद्ध सबैलाई आग्रह गर्न अपिल पत्र जारी गरेका थिए । उनले उक्त पत्रमा थापाले जितेको खण्डमा कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुग्ने दाबी गरेका थिए । यसपछि आयोगले ध्यानाकर्षण भएको जनाउँदै यस्तो कार्य आचारसंहिताविपरीत भएको जनाएको हो ।

उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ ।

बिहीबार (भोलि जेठ ६) बागमती प्रदेशबाट निर्वाचित हुने एक राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ । जसमा सत्तासिन एमालेको तर्फबाट थापा र विपक्षी गठबन्धनको तर्फबाट खिमलाल देवकोटा चुनावी मैदानमा देखिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *