कार्यदलको दोस्रो बैठक

‘आजबाट मुख्य एजेण्डामा प्रवेश गर्छौँ’

काठमाडौं । एमालेको आन्तरिक विवाद समाधानको प्रयासस्वरुप गठित कार्यदलको आज दोस्रो बैठक बस्दैछ । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्ने सत्तापक्षीय एमालेका तर्फबाट गठित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए ।

यसअघि मंगलबार (हिजो) पनि बैठक बसेको थियो । बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने, पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै एकताबद्ध ढङ्गबाट अघि बढाउनेलगायतका विषयमा छलफल गरेको थियो । आजको बैठकबाट उल्लिखित विषयबारे निष्कर्षमा पुगेर मुख्य एजेण्डामा प्रवेश गर्ने संयोजक नेम्वाङ्गको भनाइ छ । ‘हिजो शुरुको दिन केही विशेष रुपमा छलफल भयो,’ नेम्वाङ्गले भने— ‘आजबाट मेन् एजेण्डामा प्रवेश गर्छौँ ।’

खासगरी नेकपा पूर्ववत् अवस्थामा फर्केपछि विकसित भएको एमाले विवाद अझैसम्म उस्तै छ । बिचमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पटक—पटक भेटवार्ता भएपनि समस्या सुल्झिएन । तत्पश्चात् ओली—नेपालकै सहमतिमा १० सदस्यीय कार्यदले बनेको हो ।

नेपाल पक्षले ०७५ जेठ २ लाई आफ्नो ‘बटमलाइन्’ बनाएको छ । ‘जेठ २ मै फर्किने सहमति भयो,’ केही दिनअगाडि नेता नेपालले भनेका थिए । यद्यपि ओलीमा पुनः जेठ २ मै फर्किने छाटकाँट देखिँदैन । जेठ २ को पार्टी संरचना भनेको नेकपा बन्नुभन्दा अगाडिको पार्टी संरचना हो । सर्वोच्चले नेकपालाई दुई फ्याक बनाएपछि ओलीले ०७७ फागुन २८ गते विशेष बैठकमार्फत पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई एमालेमा प्रवेश गराइ केन्द्रीय सदस्य बनाएका छन् । जुन आफ्नो कदमबाट ओली पछि हट्ने सम्भावना कम छ । किनकी, जेठ ६ (भोलि) बागमती प्रदेशबाट निर्वाचित हुने एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । जहाँ, माओवादीबाट एमाले बनेका नेता रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *