आहतमा राहत

प्लाज्मा खोज्ने युवाको अनुभवः तथ्याङ्क देऊ दाता हामी खोज्छौँ

विराटनगर । रक्तदाता खोज्न सक्रिय स्वयंसेवी संस्था, रेडक्रस र ब्लडबैंकबीच रक्तदाताको दोहोरोपना आउन नदिन विरानगरमा युवाहरुले समन्वय समूह बनाएका छन् । संवाद समूह मोरङको भर्चूअल संवादको क्रममा फोन सम्पर्क गरिएका रक्तदाता फेरी नदोहोरियोस् भन्ने उदेश्यले एकिकृत ‘युथ डोनर’ समूह बनाइएको हो ।

रक्तदातालाई निरन्तर फोन गर्दा दोहोरिने, रक्तदाता चिढिने तथा मानसिक तनावमा पर्ने भएकोले दोहोरोपना आउन नदिनका लागि रक्त संकलनको क्षेत्रमा काम गर्ने स्वयंसेवी संघ संस्था तथा ब्लडबैंकको तर्फबाट सुमन सिंह, सबिन दाहाल, अभिनाश थापा, अंकित दास, जोसेफ घिमिरे, रुपक श्रेष्ठ, पुजा बिश्वासको समूह गठन गरिएको हो । समूहले रक्तदाता दोहोरिन नदिन आफ्नै बिधि बनाउने जनाएको छ । अस्पतालहरुबाट प्लाज्माको लागि अत्याधिक माग बढेकोले प्लाज्मा व्यवस्थापनका लागि यो समूहले दोहोरिन नदिन काम गर्नेछ ।

प्लाज्मा संकलन गर्दा बच्चा नभएको तथा अविवाहित महिला र सबै खालका पुरुषले मात्र दिन मिल्ने भएकोले प्लाज्मा दाता खोज्दा त्यस्ता व्यक्तिलाई खोज्न स्वयंसेवी संस्थाले भूमिका खेल्ने भएका छन् । कोरोना संक्रमित भएका तर, ब्लड ग्रुप र एन्टीबडीको मात्रा पत्ता नलागेका, प्लाज्मा दान गर्न चाहेका व्यक्तिहरुको पहिचान गरी प्लाज्माको समन्वयमा स्वयंसेवी संस्थाले भूमिका खेल्दै आएका छन् । विराटनगरमा रहेको युथ फर ब्लड, ब्लड लाईफ, ईनोभेटिभ युथ ग्रसप, ईन्स्ट्यान्ट ब्लड डोनरलगायत स्वयंसेवी संस्थाले रक्तदाता खोज्ने र जीवन जोगाउने काममा भुमिका खेलेका छन् ।

रक्तदातालाई आउन र जान समस्या हुन थालेपछि त्यसमा समस्या हुन नदिनका लागि एम्बुलेन्स वा कुनै सवारीको व्यवस्थापन आवश्यक पर्दाको हकमा नेपाल रेडक्रस सोसाईटी र महानगरपालिकाको सहकार्यमा व्यवस्थापनको पहल गर्नेपनि युवाहरुले जनाएका छन् । कोभिड लागेर निको भएकाहरुलाई काउन्सिलिङ गर्ने काम कोभिड अस्पतालमा उपचारकै क्रममा ती अस्पतालले र होम आइसोलेसनमा रहेकालाई स्थानीय तहरुले गर्ने हो भने अहिलेको जस्तो प्लाज्मा अभाव नहुने उनीहरुको भनाई छ ।हामी युवाका सबित दाहालले पिसिआर गर्न आउँदा नै तथ्यांक लिनु पर्ने, प्लाज्माको लागि एन्टीबडी हो, त्यो चेक गर्ने यन्त्र युवासँग नहुने भएकोले प्रदेश प्रयागशालाले बेलाबेला आवश्यक पर्दा सहयोग गर्न हो भने सहज हुने उनले बताए । ‘प्लाज्मा कुन खालका बिरामीलाई चाहिन्छ भन्ने स्पष्ट अस्पतालले गर्न सकेका छैनन्,’ उनले भने, ‘प्लाज्मा खोज्न युवा स्वयंसेवी संस्थाहरु लागि रहेका छन् तर अन्यौल छ ।’

ईन्स्ट्यान्ट ब्लड डोनरका सुरेन्द्र मल्लले सिकिस्त भएर निको भएकाहरु कसरी बाँच्ने भन्ने अबस्थामा ब्लड चाहियो ? भनेर जानसक्ने अवस्था नभएकोले सामान्य लक्षण देखिएका तर होम आइसोलेसनमा भएकाहरुलाई परामर्श गर्नु पर्ने बताए । ‘हामी स्वयंसेवीहरुले रगत खोज्नको लागि एउटै व्यक्तिलाई धेरैतिरबाट फोन जाँदा मानसिक तनाव पाएका छौँ । त्यसरी एउटै व्यक्तिलाई दोहोरीन नदिनका लागि यो समुहले काम गर्ने छ,’ उनले भने, ‘सिकिस्त भएको हुन्छ, कसरी बच्ने भन्ने बारेमा तनाव लिइरहेको बेलामा ब्लड चाहियो ? भनेर जान समस्या भएको छ । सामान्य लक्षण देखिएकाहरुलाई पनि परीक्षण गर्ने हो भने अलिक सजिलो हुन्थ्यो की भन्ने हो ।’

युथ फर ब्ललडका अंकित दासले निको भएर आउने तथ्यांक एउटै र एकै खालको हुने भएकोले फोन गरेका व्यक्तिहरुको बारेमा अरुले पनि जानकारी पाउने गरि युवा सर्कलमा समन्वयको जरुरी रहेको बताए । ‘सबै क्षेत्रबाट तीनै ब्यक्तिलाई फोन गर्दा मानसिक तनाव देखिएको छ,’ उनले भने, ‘तथ्यांकलाई छानेर मात्र अघि बढ्नुको विकल्प छैन ।’ प्रदेश सरकार र स्थानीय तहले आधिकाकि सुचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।

युवा अभियानकर्मी जेसिसका अभिनाश थापाले नोबेल र कोशी कोभिडमा डिस्चार्ज हुँदा पनि ब्लड ग्रुल नराखिदिँदा प्लाज्मा खोज्न समस्या भएको बताए । रक्तदाता खोज्ने र रगतको जोहो गर्ने काममा सक्रिय संस्थाहरुलाई यो समयमा फ्लोअपका लागि रकम अभावव हुने गरेकोले त्यसमा पनि ध्यान दिन सबैलाई उनले आग्रह गरे । स्थानीय सरकार, प्रदेश सरकार तथा ल्याबहरुले एकिकृत तथ्यांक बनाएर यी स्वयंसेवी समूहलाई उपलब्ध गराउनु पर्ने माग गरे ।

नेपाल रेडक्रस सोसाईटी ब्लड बैंक विराटनगरका सुमन सिंहले ब्लड बैंकमा सुरक्षित रकतका संकलन गर्न सकिने बताए । सबै अस्पतालाई रक्तदाताको लिष्ट तयार पारेर पठाउन भनिएका तर, अझै प्राप्त नभएका सुनाए । उनले अहिले प्लाज्माको अभाव भनेर हल्ला फैलाउने काम मात्र भएको बताउँदै विश्व स्वास्थ्य संगठनले नै प्लाज्माले मानिसको ज्यान नबच्ने भनेर भनिसकेकोले नागरिकलाई दुख दिनको लागि प्लाज्मा हल्ला चलाउने गरिएको बताए ।

अभियानमा सहभागी युवाहरु यासु बराल, आशा विस्वास, सुशान्त झा, प्रविण अग्रहरी, जोसेफ घिमिरे तथा सागर थापाले केन्द्रिकृत तथ्याक प्रणाली बनाएर अघि बढ्नु पर्ने, सचेतनाका लागि छोटा भिडियोहरु सार्वजनिक गर्नुपर्ने, रक्तदान गर्न जाँदा र आउँदाको लागि सवारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनीहरुले महामारीको बेला अप्ठेरो परेको प्लाज्मा र रगतको बारेमा प्रदेश सरकार र स्थानीय सरकारले चासो नदिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *