अस्पताल र अक्सिजन उद्योगलाई विद्युत् दिन प्राधिकरण हाइ अलर्टमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पताललाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले अस्पताल र अक्सिजन उद्योगको विद्युत प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडर लाई अधिकतम सतर्क (हाइ अलर्ट) को सूचीमा वर्गीकृत गरेको छ । अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाध आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको जनाएको छ । अक्सिजन उद्योग रहेका ककनी, हरिसिद्धी, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडर जडान गरिएको छ ।

कोभिड—१९को दोस्रो लहर देखिना साथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत आपूर्ति हुने फिडरको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रलाई प्राधिरकणले निर्देशन दिएको थियो । वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगमा विद्युत आपूर्तिको समस्या नरहेको बताए ।

प्राधिकरणका अनुसार आपूर्ति सुचारु गर्न बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ ।

‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं,’ कार्यकारी निर्देशक शाक्यले भने, ‘केही गरी समस्या आइहाले त्यसको तत्काल जानकारी दिन र अनुगमन गरी समधान गर्न कार्यकारी निर्देशक, उद्योगका पदाधिकारी, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखसहितको भाइबर, ह्वाट्सएप ग्रुप सचालनमा ल्याइएको छ ।’

उनका अनुसार प्राधिकरणले अस्पताल तथा अस्सिजन उद्योगसँग सम्बन्धित विद्युत प्राविधिकलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रका प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पताल तथा अक्सिजन उद्योग र विद्युत आपूर्ति गर्ने फिडरको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपाय तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =