सानो मन्त्रिपरिषद् आजै बनाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार नै शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने तयारी छ ।

अहिले बालुवाटारमा पहिलो चरणमा कसलाई मन्त्री बनाउने भन्नेबारे आन्तरिक छलफल भइरहेको छ । ओली निकट एमालेका एक नेताले मकालु खबरसँग भने– ‘प्रधानमन्त्रीज्यूले अब क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गरिरहनुभएको छ । म पनि यहीँ छु ।’
मन्त्रिपरिषद् पुनःगठन पनि आजै हो ? भन्ने प्रश्नमा उनले भने— ‘हुनसक्छ, सानो आकारको मन्त्रिपरिषद् चाहिँ आजै बनाउने कि भन्नेबारे पनि छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओली वैशाख २७ गते पदमुक्त भएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्का सबै मन्त्री स्वतः पदमुक्त भएका थिए । माओवादीले सांसद पदबाट कारबाही गरेपछि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि ६ महिना मात्र मन्त्री बन्न पाउने थिए । उनीहरु सांसद पदमुक्त भएको अवधि अझै ५ महिना बाँकी छ ।

अब बिहीबारसम्म ओली मन्त्रिपरिषद्मा रहेका ६ जना माओवादी नेताहरुको हैसियत समान भएको छ । बादल राष्ट्रिय सभा सदस्यको जेठ ६ गते हुने उप–चुनावमा एमालेको उम्मेदवार छन् ।

यसपछि अब संकटमा आफूलाई साथ दिने पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पुनः ६ महिनाको लागि मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *