कृष्ण थापाको आरोप अराजनीतिक र भ्रष्टीकरणमात्र : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले दिएको अभिव्यक्ति भ्रष्टीकरण र व्यक्तिगत स्वार्थ पूर्तिका लागि रहेको जनाएको छ ।

कांग्रेस जैमिनी नगर समिति‚ बागलुङले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो चरित्र ढाकछोपका लागि असत्य र व्यक्तिगत स्वार्थपूर्ति गर्नलाई थापाले कांग्रेसप्रति उक्त लाञ्छना लगाएको जनाएको छ ।

गण्डकी प्रदेशको सरकार गठनका विषयमा भएका गतिविधि र त्यसको प्रत्यक्ष भूमिकामा देखिएका थापाले विभिन्न सञ्चारमाध्यममा कांग्रेसप्रति लाञ्छित अभिव्यक्ति दिँदै आएका थिए । उनले दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनमोर्चा र कांग्रेसबीचको असहिष्णु सम्बन्धका बारेमा थापाले दिएको बयान पूर्णतः असत्य, पूर्वाग्रही र व्यक्तिगत स्वार्थपूर्तिका लागि भएको जनाइएको छ ।

नेकपा एमालेसँग नजिक हुन कांग्रेसलाई यस्तो आरोप लगाउने चलन पुरानै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘अराजनीतिक चरित्र, गुण्डागर्दी र राजनीतिक सामाजिक व्यवहारमा भ्रष्टीकरणमा परेका जनमोर्चाबाट पलायन भएका कथित कार्यकर्ताले लगाउने गरेका आरोपको निरन्तरता कृष्ण थापाको वक्तव्य हो भन्नेमा नेपाली कांग्रेस जैमिनी स्पष्टै छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनमोर्चासँग राजनीतिक रुपले प्रतिस्पर्धा हुने भए पनि अराजनीतिक रुपले व्यक्तिगत धारणाका आधारमा थापाद्वारा सामाजिक द्वन्द्व निम्त्याउने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने वक्तव्य आएको भन्दै समितिले भर्त्सनासमेत गरेको छ ।

प्रतिक्रिया