कांग्रेसले चित्त दुखाएपछि मन्त्रीको शपथ रोकियो

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुका लागि राखिएको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका ३ जनालाई मन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको कार्यालयले बिहीबार ११ बजे शपथग्रहण कार्यक्रम राखेकोमा कार्यक्रम स्थगित गरिएको हो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसको असन्तुष्टिका कारण शपथग्रहण स्थगित भएको श्रोतहरुले बताएका छन् ।

दुईवटा मन्त्रालय दिए कांग्रेसले सरकारमा सहभागी हुनसक्ने बताए पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रालय विभाजन गरेर पनि माओवादी केन्द्रकै सांसदलाई मन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस असन्तुष्ट रहेको प्रदेश सभामा कांग्रेसका एक सांसदले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्रीमा बिन्दमान बिष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपालीलाई नियुक्त गरेका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्य्राए जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुनमा र सहरी विकासलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाहीले वैशाख ३ गते संसद्बाट विश्वासको मत लिएपछि पहिलोपटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए । संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका एमालेका अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

पाँच जना सांसद पदमुक्त भएपछि ३५ सदस्यीय रहेको कर्णाली प्रदेशसभामा संसद्मा नेकपा एमालेका १६ (सभामुखसहित), नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

प्रतिक्रिया