सत्ताको मियोमा उही अनुहार ! किन आउदैनन् नयाँ ?

काठमाडौं । संविधानको धारा ७६ (२) बमोजिम दुई वा बढी दलहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री बन्न दाबी पेश गर्ने समयसीमा साँघुरिदैछ ।
बहुमतको सरकार बनाउन विपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा समूहका नेताहरुको दौडधुप चलिरहेको छ । बहुमत पुर्याउने सम्भावना बोकेको ठुलो दल नेकपा एमालेका अध्यक्ष एवम् कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अहिले बहुमत पुर्याउनुभन्दा पनि विपक्षीलाई रोक्ने रणनीतिमा देखिन्छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवालाई प्रधानमन्त्री दाबी गर्न बहुमत पुर्याउने कसरत गरिरहेका छन् । सकेसम्म जसपाको सिंगो समूहलाई फकाउने, नसके एमालेकै माधव नेपाल समूहलाई राजीनामा गराएर भएपनि ओलीलाई बहिर्गमन गर्नैपर्ने देउवा र प्रचण्डको चाहना छ । यसमा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पनि विमती छैन । भलै, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले अब नयाँ अनुहारलाई प्रधानमन्त्रीमा नियुक्त गरेर १ वर्षमा चुनाव गराऔं भन्ने विचार पनि व्यक्त गरेका छन् ।
अहिले सत्ता र शक्तिका लागि जुन सरगर्मी चलिरहेको छ, देशमा त्योभन्दा चर्को गर्मी कोरोना भाइरसले उत्पन्न गराएको छ । यस्तो बेला नागरिकले आफ्नो अभिभावकत्व लिन सक्ने अब्बल नेतृत्व चाहेका छन् । तर, सत्ता र शक्तिको खेलमा मस्तराम देखिने नेताहरू केवल मृतकप्रति श्रद्धाञ्जली र संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गरेर औपचारिकता पूरा गरिरहेका छन् ।
राष्ट्रपतिले बहुमतको सरकारका लागि दिएको समय बिहीबार राति ९ बजे सकिन्छ । त्यसबेलासम्म देउवा र प्रचण्डले आफ्नो पक्षमा बहुमत पुर्याए देउवाले मुलुकको प्रधानमन्त्रीका रुपमा पाँचौँ पटक सत्तारोहण गर्नेछन् । नभए संविधानको धारा ७६ (३) बमोजिम पुनः केपी ओली नै तेस्रो पटक प्रधानमन्त्री बन्नेछन् । कुनै अप्रत्याशित राजनीतिक तालमेल नभए कमसेकम यो त निश्चित छ कि अबको प्रधानमन्त्री ओली नै हुन् । नभए देउवा बन्न सक्लान् । यसरी मुलुकले ३९औं प्रधानमन्त्री त पाउनेछ, तर त्यो नयाँ अनुहार हुनेछैन ।
नयाँ अनुहारबारे छैन बहस
सत्ता सञ्चालनमा नयाँ अनुहार आउने त टाढाको कुरा नयाँलाई ल्याऊँ भन्ने बहशधरी कुनै पनि दलमा भएको देखिँदैन । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् बहशमा ल्याएको यो विषयबारे पनि धेरै चर्चा भएको देखिँदैन । देउवा नेतृत्वमा कांग्रेस र माओवादीसँग मिलेर बहुमतको सरकार बनाउन लागेका भट्टराईको यो ट्वीटले भलै अर्को सन्देश पनि दिएको होला, तर उनको यो प्रस्ताव कार्यान्वयन हुँदो हो भने नागरिकको आँखामा फेरि एउटा आशा जगाउन सक्थ्यो ।
वर्तमान राजनीतिको शीर्ष नेतृत्व नयाँ अनुहारका बारेमा कति जब्बर छ भन्ने बुझ्न केही महिनाअघिको राजनीतिक परिदृष्यलाई हेरे पनि थाहा हुन्छ । नेकपाभित्रको आपसी खिचातानी उत्कर्षमा रहेका बेला एकातिर केपी शर्मा ओली र अर्कातिर माधवकुमार नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनालहरू देखिएका थिए ।
दुवै पक्षमा नयाँ पुस्ताको नेतृत्वका लागि नयाँ नामहरूबारे बहश र विमर्श गर्न कसैले आवश्यकता ठानेनन् । प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपाका अध्यक्ष ओलीले नयाँ पुस्तामा नेतृत्व सुम्पन तयार रहेको त बताए तर त्यससँगै आएका अर्को महाधिवेशनपछि लगायतका शर्तहहरूले त्यो तत्कालको एक वाचाल वाणीमात्र थियो भन्न सकिन्छ । ओली वा नेपालले एक अर्कालाई ‘अब म पनि अब प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकबाट हट्छु, तपाईं पनि दाबी नगर्नुहोस् । नयाँ पुस्तालाई दिऊँ’ भन्ने प्रस्ताव राख्न सक्ने हो भने अहिले देखिएको एमालेभित्रको किचलो अन्त्य गर्ने एक सञ्जिवनी बुटी हुनसक्थ्यो ।
‘घुमिफिरी रुम्जाटार’ भनेझैँ राज्यसत्ताको बागडोर उही पूराना/बुढाहरूको हातमा पुग्छ, जो अहिले वा एकपटक होइन, जनताका अघिल्तिर पटक-पटक परीक्षण भइसकेका छन् ।
अन्यथा नलिइयोस्- तर अहिले केपी ओलीको ठाउँमा शेरबहादुर देउवा प्रधानमन्त्री बने भने वा बन्ने भए भन्ने खबरले आम नागरिकलाई कुनै उत्साह ल्याउला ? कामचलाउन बनेका प्रधानमन्त्री ओलीजत्तिको ढिपी र अड्डी नकस्लान अनि यति विघ्न जान्ने सुन्ने नपल्टेलान् भन्ने मान्न सकिएला तर यसअघिका चार कार्यकालमा देउवा परीक्षण भइसकेको होइन र ! उनी पनि कति लोकतान्त्रिक छन्, अरुका कुरा कति सुन्छन् वा शासन व्यवस्था सञ्चालनमा कति पोख्त छन् भन्ने अब परीक्षण गर्न बाँकी छैन शायद । तर, उनी सरकारमा आफूबाहेकलाई जान दिनेबारे निर्णय त परै जाओस् बहशसम्म पनि गर्न चाहँदैनन् भन्ने बुझिन्छ । उसो त देउवा फेरि महाधिवेशनबाट पार्टी सभापति बन्ने तयारी गरिरहेका छन् ।
वर्षौंदेखि पटक-पटक सत्ता तथा पार्टीका विभिन्न जिम्मेवारीमा काम गरेर उमेर ढल्किए पनि नेताहरू ‘रिटायर्ड लाइफ’ बिताउन तयार छैनन् । समाज पुस्तान्तरण भएर धेरै अघि पुगिसक्यो तर पार्टी राजनीति र सत्ता अझै उनीहरुकै वरिपरि घुमिरहेको छ ।
पछिल्ला दशकका यी नेताको चरित्र देख्दा लाग्छ, सत्ता र राजनीति भनेको मृत्युपर्यन्त हो, र यदि कोही मृत्युअघि नै राजनीतिबाट रिटायर्ड हुन्छ भने त्यो उसको असफलता हो ।
डा भट्टराईले भनेझैँ तत्कालै नयाँ अनुहारले नेतृत्व पाइहाल्ने अवस्था नरहेको बताउँछन् राजनीतिक विश्लेषक कृष्ण पोखरेल । उनी भन्छन्, ‘त्यसो त ओलीले छाडिदिएका भए अहिले नेकपाकै सरकार रहिरहन सक्थ्यो । तर, अहिलेको शीर्ष नेतृत्व दोश्रो पुस्तालाई छाड्नका लागि तयार छैन ।’ उनी पटक पटक नेतृत्व सम्हालिसकेका नेताहरुलाई जलिसकेको बारुदसँग तुलना गर्छन् । ‘उहाँहरु एकपटक परीक्षण भइसक्नुभयो । त्यो भनेको उहाँहरुका योजना, उत्साह, भिजन, मिसन सबै देखिसकियो,’ पोखरेल भन्छन्, ‘उहाँहरू अब जलिसकेको बारुदजस्तै हो, देख्दा कालै देखिन्छ, तर बल्दैन ।’
डा.भट्टराईले भनेझैँ राष्ट्रिय सहमति बने यो पुस्तान्तरणका लागि उपयुक्त समय भएको पोखरेलको टिप्पणी छ ।
शीर्ष नेतृत्व पुस्तान्तरणका लागि तयार नहुँदा नयाँ-युवा नेताले उत्तिकै हस्तक्षेपकारी भूमिका खेल्ने हिम्मत पनि गर्न सक्नुपर्छ भन्ने कुरा पनि पटकपटक उठ्ने गरेको छ । तर पछिल्लो छिमलका नेताहरु यसमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा प्रस्तुत हुन नसकिरहेका मात्र होइन । पार्टीभित्रको कुनै न कुनै गुटको ओत लागेर खेमा खेमामा विभक्त छन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीको आगामी महाधिवेशनमा युवा पुस्ताको सहभागिता वृद्धि हुने दाबी गर्छन् । ‘अहिलेको युवा नेतृत्वमा क्षमता नभएको भन्ने होइन, तर पार्टी वा सत्ता जे भएपनि त्यहाँ एउटा विधी हुन्छ, त्यो विधिबाट अघि जानलाई युवाको क्षमता र चाहनाले मात्रै पुग्दैन,’ पौडेल भन्छन् ।
कांग्रेस नेता डा. शेखर कोइराला युवाको प्रत्यक्ष सहभागिताबिना अबको राजनीतिक पार्टी र सत्ता असम्भव भएको बताउँछन् । पार्टीमा नेतृत्वका लागि दौडमा रहेका डा.कोइरालाले युवा सहभागिताका लागि ६०/४०को खाका अघि सारेका छन् । ‘तल्ला तहमा ६० प्रतिशत र केन्द्रमा ४० प्रतिशत युवा नेतृत्व सुरक्षित गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘युवाको जोस र बुढाको अनुभवलाई मिलाएर लैजानुपर्छ ।’
गणतन्त्र स्थापनापछिको दशकलाई नियाल्ने हो भने घुमिफिरी सत्ताको वरिपरि उही व्यक्तिहरू पुगेका छन् । यसमा देउवा वा ओलीमात्रै पर्दैनन् । जस्तैः कि माओवादी अध्यक्ष प्रचण्ड २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री भए । त्यसको आठ वर्षपछि ०७३ मा फेरि १० महिना प्रधानमन्त्री भएर चलाए । अहिले पनि राष्ट्रिय राजनीतिको फ्रन्टसिटमै छन् । र मौका पर्खिरहेका छन् ।
राष्ट्रिय राजनीतिकै फ्रन्टमा देखिने एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल पनि प्रधानमन्त्री भइसकेका नेता हुन् । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पनि ०६५ भदौदेखि १८ महिना शासन गरेका थिए ।
देउवाको विकल्प को त ?
कांग्रेस सभापति र संसदीय दलको नेता रहेका देउवा यसअघि नै चारपटक प्रधानमन्त्री भइसकेका छन् । ०४८ को आमनिर्वाचनमा चुनाव जितेपछि सत्ता राजनीतिमा सक्रिय भए । ०५२ सालमै प्रधानमन्त्री पनि भए । त्यसपछि ०५८, ०६१ र ०७५ सालमा समेत गरी देउवाले चार पटक देशको प्रधानमन्त्री भएर शासन गरे ।
देउवा आफ्नो चुनाव क्षेत्र डडेल्धुराबाट ०४८ साल यताका ६ वटै आमनिर्वाचनमा निरन्तर विजयी हुँदै आएका छन् । उनको क्षमता, दक्षता र कार्यकौशलता त्यहीबेला परीक्षण भइसकेको छ । तर, देउवा यतिमै चित्त बुझाउन तयार छैनन् । उनी सातपटक प्रधानमन्त्री बन्ने योग रहेको भन्ने ज्योतिषको भविष्यवाणी रहेको कुरा चर्चामा छ । उनले यसलाई अस्वीकार गरेका छैनन् ।
करिब दशकसम्म प्रतिपक्षमा बसेपछि पार्टीको १३ औँ महाधिवेशनबाट सभापति चुनिएका देउवा आसन्न १४ औँ महाधिवेशनबाट फेरि आफैँ सभापति र आमनिर्वाचनबाट पुनः देशको प्रधानमन्त्री बन्न चाहन्छन् ।
अहिले ओलीको विकल्पमा प्रधानमन्त्रीको रुपमा देउवाको नाम आउँदा ओलीराजबाट पीडितहरू घाउमा केही मल्हमपट्टी हुने अपेक्षा गरिरहेका छन् । तर, नागरिकमा कुनै उत्साह देखिएको छैन । तर यथार्थः कांग्रेसबाटै देउवाको विकल्प सजिलै सम्भव पनि देखिँदैन ।
देउवा पार्टीको केन्द्रीय समितिमा दुई तिहाई बढी बहुमतका सभापति हुन् । त्यस्तै, प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित ६३ सांसदमध्ये अहिले ६१ सांसद छन् । संसदीय दलको नेता चयनका लागि मतदान हुँदा देउवाले ६३ मध्ये ४४ र प्रतिष्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका थिए । उपनेता रहेका उपसभापति विजयकुमार गच्छदार निलम्बनमा छन् । त्यसैले कांग्रेसको संसदीय दलमा देउवाले नचाहेसम्म प्रधानमन्त्रीका लागि अर्को उम्मेदवार खडा हुने अवस्था देखिँदैन ।
देउवाको विकल्प खोज्ने कुरा कांग्रेसभित्र पनि नउठेको भने होइन । विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनस्थापित भएपछि कांग्रेसभित्रै देउवा तयार नभए उनको विकल्प खोजेर भएपनि निकास दिनुपर्ने कुरा उठ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महामन्त्री डा.शशाङ्क कोइराला र नेता प्रकाशमान सिंहलाई देउवाको विकल्पमा नयाँ प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर अविश्वासको प्रस्ताव लैजानुपर्नेबारे छलफल समेत गर्यो । तर, त्यो केवल छलफल मात्र भयो, निर्णयमा पुग्न सकेन । देउवाले चाहने हो भने र आफ्नै पक्षबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउन चाहने हो भने विमलेन्द्र निधी उम्मेदवार बनाइन सक्छन् । पार्टी सभापति भइसकेका निधीसँग उपप्रधानमन्त्री भएको अनुभव पनि छँदैछ ।
ओलीले छाडिदिए मिल्ला एमालेको विवाद ?
सात वर्षअघि नवौँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्ष बनेका ओली अहिले पार्टीको अध्यक्षमात्रै छैनन् । त्यसयता दुई पटक प्रधानमन्त्रीसमेत भइसकेका छन् । ०७२ सालमा पहिलो पटक १० महिना प्रधानमन्त्री बनेका ओलीले यसपटक ३८ महिना देश चलाए । योसँगै उनी गिरिजाप्रसाद कोइरालापछि लामो अवधि शासन गर्ने प्रधानमन्त्रीसमेत बनेका छन् ।
यसबीचमा उनको स्वास्थ्यले सक्रिय राजनीतिका लागि साथ नदिएको कुरा त छँदैछ । तर, अझैपनि पार्टीको अध्यक्ष वा प्रधानमन्त्री जुनसुकै पदमा पनि ओली आफूबाहेकलाई अघि सार्न तयार छैनन् ।
गत निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेका ओलीले त्यसलाई पार्टी एकतासम्म पुर्याए । तर, शक्ति बाँडफाँटमै एक्लौटी गर्न नपाएपछि ओलीले आफ्नै पार्टी एमालेको जग बसाल्ने नेताहरू झलनाथ खनाल र माधव नेपालदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मलाई लखेटे । जसले जे भनेपनि एकतापछि बनेको नेकपा यो अवस्थामा आउनुको जड कुर्सी नै हो । अहिले एमालेभित्रको विवादको जड पनि सत्ता र कुर्सी नै हो ।
यदि ओली आफ्नो विकल्पमा नयाँ अनुहारलाई नेतृत्व दिन तयार हुने हो भने एमालेभित्रको विवाद साम्य हुनसक्ने थुप्रै आधारहरू छन् । र, त्यसले एमालेको विवाद समाधानमात्रै होइन, मुलुकमा अघिल्ला दुई वर्ष पनि एमालेकै नेतृत्वको सरकार हुने सुनिश्चितता हुन सक्छ । तर, ओलीले नचाहेसम्म त्यो पनि असम्भव नै छ ।
किन विकल्प बन्न सक्दैनन् महन्थ वा उपेन्द्र ?
हुन त अहिले महन्थ ठाकुर पनि नयाँ प्रधानमन्त्री बन्न सक्ने अनुमानहरू भइरहेका छन् । सत्तामा को पुग्नेभन्दा पनि एकले अर्कालाई छेक्ने रणनीतिका क्रममा महन्थ नयाँ प्रधानमन्त्री बन्न पनि सक्छन् । भलै यो निकै कठीन कुरा अवश्य हो । उनी प्रधामन्त्री बने नयाँ त हुनेछन् तर नयाँ पुस्ता हुने छैनन् ।
त्यसमध्ये जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव पनि हुन सक्ने उल्लेख भएका छन् ।
महन्थ र उपेन्द्र पटक–पटक कांग्रेस र एमालेको सत्तारोहणको सहयोगी बनिसकेका छन् । तर, अहिले पनि उनीहरू सत्ता राजनीतिको मियो बन्न सकेका छैनन् ।
वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री बन्नका लागि महन्थ ठाकुरले आँट नै नगरेको टिप्पणी गर्छन् । नेपालले ट्वीट गर्दै भनेका छन्, ‘यो पटक महन्थ ठाकुर प्रधानमन्त्री बनुन् भन्ने धेरैको चाहना थियो । उनले आँट नै गरेनन् । प्रधानमन्त्री ओलीको दौराको फेर समातेर लडिरहे । महन्थले प्रधानमन्त्री पदमा दाबी ठोकेको भए राजनीतिक परिस्थिति अर्कै हुने थियो । मधेशका जनताको चाहना पनि त्यही थियो ।’
जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले गरेको प्रस्तावले के अध्यक्षद्वय महन्थ ठाकुर वा उपेन्द्र यादवको नेतृत्वमा सरकार बनाउन सकिने कुरालाई संकेत गर्छ त ? यदि गर्छ पनि भने उनले किन सिधै जसपाका यी नेताको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गर्न सकेनन् ? यसले पनि राजनीतिको पुस्तान्तरण कति कठीन छ भन्ने कुराको अन्तर्य बोकेको छ ।








