निषेधाज्ञाबारे नयाँ आदेशः के-केमा थप कडाइ गरिँदैछ ?

काठमाडाैँ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै २९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको थियो । सङ्क्रमणदर नघटेपछि पुनः दुई साता थप गरिएको हो ।

अब निषेधाज्ञामा थप कडाइ गरिँदैछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि मंगलबार जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ । केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

हेर्नुहोस् नयाँ आदेशको पूर्णपाठ :- पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया