सबैकी आमा

विराटनगर । सीता पोखरेल ७३ वर्षकी भइन् । २००६ सालमा संखुवासभाको चैनपुर भञ्ज्याङमा जन्मिएकी सीतालाई १२ वर्षको उमेरमा बुबा-आमाले धरान ल्याएर बालमुकुन्द पोखरेलसँग विवाह गरिदिए ।

विवाहपछिको झण्डै ११ वर्ष धरानको विजयपुर डाँडामा बिताएपछि उनी श्रीमानसँगै धेरै ठाउँमा पुगिन् । श्रीमान् जागिरका सिलसिलामा जहाँ जहाँ सरुवा भएर गए उनी पनि सँगै गइन् ।

जागिरे श्रीमानको सरुवाका क्रममा सुनसरीको इटहरीमा आइपुगेका बेला उनले स्वेटर बुन्ने काम थालिन् । स्वेटर बुन्ने ७ वटा मेसिन थिए । उनी आफूले बुन्ने र अरूलाई पनि सिकाउने गर्थिन् । त्यो बेला ६२ जनालाई स्वेटर बुन्न सिकाएको उनी सम्झिन्छिन् । स्वेटर बुनेको शुल्क उनी लिन्न थिइन् । स्वेटर बेचेको नाफाबाट उनले असाहाय र अशक्तहरुको उपचारमा खर्च गर्न थालिन् । त्यहाँबाट शुरु भएको हो उनको समाजसेवाको यात्रा, जसले अहिले उनलाई सबैकी आमा बनाएको छ ।

झण्डै तीन दशकको आश्रम यात्रा
उनी २०३९ सालमा विराटनगर आइन् । श्रीमानसँगै विराटनगर आएकी उनले २०४० सालदेखि आश्रम संचालन गर्ने योजना बनाइन् । आफन्त नभएका वा भएर पनि सडकमा भौतारिएकाहरूलाई उनले कोठा भाडामा लिएर राख्न थालिन् । आश्रमकै रुपमा चलाऊँ भन्ने लागेपनि त्यसले मूर्त रुप पाउन केही वर्ष कुर्नुपर्‍यो । २०४४ सालमा उनले भाडाको घरमा पूर्वाञ्चल अनाथाश्रम दर्ता गराइन् । विराटनगरको वडा नम्बर १ बाट शुरु भएको आश्रम, भुमी प्रशासन चोक, तिनटोलीया, पिपलचोक, महेन्द्र मोरङ नजिकै हुँदै जोगवनी जाने बाटोमा भाडामा बसेको थियो । केही वर्ष आश्रम भाडाको घरमा सार्दा सार्दा हैरान भएपनि अहिले आश्रमको आफ्नै भवन छ ।

दुई रुपैयाँ र मुठीदान
कोठा सर्दा सर्दा हैरान भएकी सीतालाई आश्रमको आफ्नै भवन बनाउने रहर जाग्यो । ‘धेरै जग्गा भएकाहरूसँग बच्चा राख्नका लागि २ कठ्ठा जग्गा माग्दासमेत कसैले पत्याएनन्,’ सीताले भनिन्, ‘त्यसपछि जग्गा किनेर नै चलाउँछु भन्ने लागेर मुठीदान र दुई रुपैँया अभियान चलाएँ ।’

२०४९ सालमा २० हजार रुपैयाँ प्रति कठ्ठाका दरले २ बिगाहा ४ कठ्ठा जग्गा खरिद गरिन् । आफूसँग भएको केही रकम, मुठीदानबाट उठेको रकम अनि बाँकी आफ्ना गरगहना बचेर भएपनि किन्ने अठोट गरिन् ।

सीताले मकालु खबरसँग भनिन्, ‘यो आश्रमको जग मुठीदान हो । एमएम प्लाष्टिक फ्याक्ट्रीले प्लाष्टिकका चारसय बट्टा बनाएर दिएको थियो । ती बट्टा सबैको घरमा राखिदिन्थेँ र ल्याएर खुवाउँथे । चामलले मात्र पुग्छ त भनेर उहाँहरुले नै सोध्न थाल्नुभयो, अनि मैले दुई रुपैयाँ अभियान चलाउन थालेँ ।’ सीताले मुठी दातासँग जग्गा किन्नका लागि धुरको १ हजार दिनुस् न भन्ने अभियान चलाइन् । यो अभियानमा दुई जनाले ५/५ हजार रुपैयाँ दिएको उनी सम्झीन्छिन् ।

आश्रमका धेरै रोजगारीमा
पूर्वाञ्चल बाल सेवा आश्रममा अहिले ७६ जना छन् । ६२ जना बालबालिका छन् । आश्रममा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मात्र बालबालिका राख्ने गरिएको उनले बताइन् । आश्रममा ३२ वर्षदेखि बस्दै आएकाहरू पनि छन् । ‘उनीहरू नै आश्रमका धनी हुन्,’ सीता भन्छिन, ‘म त चौकीदार हुँ ।’

त्यो बेला र अहिलेपनि सेवा गर्नेले सेवा गर्न नजानेको उनको ठहर छ । पुजा, पुराण लगाउने जाती र पाती छुट्याउने, फेरि धर्मका कुरा गर्ने कुरा ठीक होइन उनको भनाइ छ धर्म वा पुन्य वा सेवा भनेको त समस्यामा परेकाहरुलाई सजिलो बनाइदिने हो । एकजनामात्र पनि दुःखी, अनाथ वा असहायलाई सहयोग गर्न सकियो भने त्यही हो पुण्य भनेपनि पूजा भनेपनि पूराण भनेपनि । उनको निचोड छ ।

अहिले धेरै संघसंस्था युवा, तथा विभिन्न व्यक्ति र घरानाहरू सेवा भावका साथ अघि आएकोमा उनलाई खुसी लाग्छ । कलेजका विद्यार्थी, लियो, रोटरी, लायन्सजस्ता संस्थाले पनि सहयोग गर्न थालेकोमा उनलाई केही सन्तोक लाग्छ ।

असहाय र अनाथलाई हुर्काउने बढाउने काम गरेकी सीताका एक सयभन्दा बढी छोराछोरी छन् । हुर्काइ, बढाइ, पढाइ गरेर अहिले विदेश पुगेका छोराछोरी ४० जनाभन्दा धेरै रहेको उनले सुनाइन् । अहिलेसम्म २४ जना छोरीको बिहे गरेको पनि उनले बताइन् । कोही सरकारी जागिरमा छन् । कोही डाक्टर र कोही ईन्जीनियर भएका छन् । सबैलाई आफ्नै छोरा छोरीको झैँ माया लाग्ने उनी बताउँछिन् । सबैले उनलाई सीता आमा भन्छन् । आश्रममा बसेका छोराछोरीले मात्र होइन उनको काम थाहा पाएका सबैले उनलाई बोलाउने नाम सीता आमा नै हो ।

दूध खुवाउन गौशाला
आश्रममा रहेका बालबालिकालाई चाहिने दूधका लागि आश्रममै गौशाला पनि बनाएकी छिन् । शुरूमा आश्रमका बालबालिकालाई खुवाउन भाँडो बोकेर दूध माग्दै हिँड्दा नपत्याउने, पैसा नहुँदा भोलि दिन्छु भन्दा उल्टै गाली खानुपर्ने अवस्था आयो । त्यसपछि आश्रममै गाई पाल्न सके दूधको समस्या सधैंका लागि समाधान हुने सोचेर उनले आश्रमभित्रै गाई पाल्न थालिन् । अहिले गौशलामा दूध दिने पाँचवटा गाई छन् । माउ र बाच्छा गर्दा १८ वटा छन् ।

सिकाइका दुई घटना
२०३४ सालतिरको कुरा, उनी कोशी अस्पताल विराटनगरमा आएकी थिइन् । एक व्यक्ति रुँदै अस्पताल बाहिर निस्कँदै गरेको देखिन् । के भएको भन्नेबारे बुझिन् खुट्टामा ठूलो घाउ भएर उपचार गर्न आएका उनलाई अस्पतालले औषधीमात्र दिएर डिस्चार्ज गरेछ ।

उनले अस्पतालका डाक्टर, मेसुसँग कुरा गरिन् तर त्यहाँ उपचार नहुने भएपछि त्यहाँबाट धरानको घोपामा भर्ना गराइन् । उनको खुट्टा काट्नुपर्‍यो । उनी उपचारपछि घर फर्किए ।

२०३८ सालतिर उनले एक दृष्टीविहीन दम्पतीको विराटनगर ल्याएर उपचार गरिन् । उनीहरू दाउरा बेच्थे । दाउरा अर्कैले काट्ने । दम्पती बेच्न बजारसम्म ल्याउने गर्थे । दम्पतीलाई मोतियाबिन्दु भएको थाहा भयो । तर पैसा नभएकाले उनीहरूले उपचार गराउन सकेका थिएनन् । सीताले उनीहरुलाई गोल्छा अस्पताल विराटनगर ल्याएर भर्ना गरिन् । ५ दिनसम्म राखिन् । धरानबाट नै खाना बनाएर ल्याउने र उनीहरुलाई खुवाइन् । ‘उनीहरू आँखा देख्ने भएर घर फर्किए,’ सीता सम्झिन्छिन्,’ ‘उनीहरुका लागि एक महिना खान पुग्ने चामल दिएर पठाएँ । उनीहरुको अनुहारमा खुशी देख्दा केही राम्रै काम गरेछु भन्ने लाग्यो ।’

प्रतिक्रिया