‘राजीनामा दिन्नँ, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छु’

काठमाडौं । विपक्षी एमाले (माधवकुमार नेपाल–झलनाथ खनाल) पक्षमा खुलेकी सांसद गंगा चौधरीले आफूले राजीनामा नदिने बताएकी छन् । नेपाल–खनाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने बताइरहँदा सांसद चौधरीले यस्तो बताएकी हुन् । ‘म राजीनामा दिने पक्षमा छैन,’ चौधरीले मकालु खबरसँग भनिन्– ‘म मेरो अध्यक्षलाई विश्वासको मत दिन्छु । म पार्टी भाँड्ने पक्षमा छैन ।’

दाङकी समानुपातिक सांसद चौधरीले सामूहिक राजीनामा दिने सांसदहरुको नाममा आफ्नो पनि नाम राखिएको भन्दै विरोध जनाइन् । भनिन्– ‘मलाई राजीनामा गर्नुपर्छ भनेर भनिएको चाहिँ छैन । तर मेरो पनि नाम चाहिँ जोडिएछ । म राजीनामा दिने पक्ष छँदै छैन । मैले किन दिने राजीनामा ?’

सांसद चौधरी यसअघि ओली पक्षमा रहेको भनिएपनि पछिल्लो पटक विकसित राजनीतिपछि नेपाल–खनाल पक्षमा जोडिएकी थिइन्। नेपाल–खनाल पक्षका प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदले सामूहिक राजीनामा दिने भनेपछि चौधरीले फरक मत राखेकी हुन् ।

प्रधानमन्त्री ओलीले सोमवार सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया