मुख्यमन्त्रीमा केसीलाई प्रस्ताव गर्दै शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक फकरुद्धिन खानले मकालु खबरलाई दिएको जानकारीअनुसार मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको हो । ‘हामी ४० जना सांसदहरुको हस्ताक्षरसहित पुनः अविश्वास प्रस्ताव दर्ता भइसकेको छ,’ सचेतक खानले भनेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशस भामा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीमा माओवादी नेता कूलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ‘कूलप्रसाद केसीजीलाई नै हामीले प्रस्ताव गरेका छौँ,’ सचेतक खानले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि वैशाख ६ गते पनि अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसपछि मुख्यमन्त्री पोखरेलले उक्त प्रस्ताव छल्न वैशाख १९ गते पदबाट राजीनामा दिएर पुनःनियुक्ति भएका थिए । त्यसपछि सकिएको पहिलो अविश्वास  प्रस्ताव झमेलापछि पुनः अर्को प्रस्ताव दर्ता भएको हो । केन्द्रका एमाले नेताहरुले दुई वर्षसम्म पुनः अविश्वास प्रस्ताव ल्याउन नपाइने प्रावधान रहेको बताउँदै आएका छन् । तर, उक्त प्रावधान निर्वाचित भएको २ वर्षसम्मको समयावधिको लागि मात्रै आकर्षित हुने सचेतक खानले औंल्याए, भने– ‘दुई पटक ल्याउन नपाइने भन्ने होइन, त्यो चाहिँ निर्वाचित भएको दुई वर्ष मात्रै भनिएको हो । अस्ति भर्खर त उहाँ निर्वाचित हुनुभएको होइन, पुनः नियुक्ति मात्रै हो ।’

प्रतिक्रिया