तत्काल अक्सिजन र शय्याको व्यवस्था गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अक्सिजन आपूर्ति तथा आवश्यक शय्याको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शनिवार विज्ञप्ति जारी गरी कोभिड–१९का बिरामी अस्पतालमा शैय्या तथा अक्सिजन नपाएर उपचारबाट वञ्चित भइरहेकालाई तत्काल शय्या र अक्सिजनको व्यवस्था गर्न माग गरेका हुन् ।

काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका तथा यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेको स्मरण गराउँदै विज्ञप्तिमा सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील हुन नसकेको आरोप लगाइएको छ ।

सरकारले संक्रमितहरुको आवश्यकताअनुसार अस्पतालहरुको थप व्यवस्था र अक्सिजनको समुचित आपूर्ति गर्न नसकेको तर्फ ध्यानाकर्षण गराउँदै कांग्रेसले आवश्यकताअनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेको छ ।

यस्तै अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया