प्रचण्डले पनि भने– संवैधानिक परिषद्को बैठकमा नजानुस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले शनिवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका परिषद् अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् । विज्ञप्तिमार्फत प्रचण्डले भनेका छन्– ‘संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ ।’

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेकाले अरु सदस्य पनि नजान भनेका हुन् । ‘बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,’ अध्यक्ष प्रचण्डले थपेका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान बस्नेगरी संवैधानिक परिषद्को बैठक आह्वान गरको छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बैठकमा आफू नजाने बताउँदै अरु सदस्यलाई पनि सहभागी नहुने भनेको थिए ।

प्रतिक्रिया