प्रेमध्वजलाई सम्झिँदै भावुक बने मदकृष्ण

काठमाडौं । कोरोना संक्रमण भएर उपचार गराइरहेका कलाकार मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई सम्झिएका छन् । गायक प्रधानको बिहीबार ८४ वर्षको उमेरमा निधन भएको थियो ।

मदनकृष्णले लेखेका छन्‚‘वि.सं २०२६ सालमा कवि दुर्गालाल दाइको शब्दमा तिम्रै सङ्गीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत सङ्गीतका क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले । कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी । मनमा मानवता भएको व्यक्ति तिमी । कसैलाई कुभलोको शब्द नबोल्ने हृदयमा भगवान् भएको गायक तिमी । मैले आफ्नो जीवनलाई तिमीजस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झेको छु । चाँडै निको हुनेछु र निको भएर अस्पतालमा वा बागबजार घरमा तिमीलाई भेट्न आउने सोचमा थिएँ । तर, तिमीले त हामी सबैलाई छोडेर पो गइसकेका रहेछौ । मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाइ । घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन’ भन्थ्यौ । अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र । तिम्रो आत्मालाई चीर शान्त मिलोस् । हार्दिक श्रद्धाञ्जली छ है दाइ ।’

गायक प्रेमध्वज प्रधानको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया