पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह : आफ्नो दुःखबारे पनि लेख्नुस्, सम्बोधन हुन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारले आफ्नो दुःखका बारेमा पनि लेख्नुपर्ने बताएका छन् । शुक्रवार छैठौं राष्ट्रिय पत्रकारिता दिवस–२०७८ पत्रकारिता पुरस्कार, २०७६/७७ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भने– ‘पत्रकारहरुको दुःखको बारेमा मन्त्रालय जानकार छ । पत्रकारिता क्षेत्रमा देखिएका कष्टबारे जानकार छ । तर, पत्रकारले आफ्नो दुःखका बारेमा पनि लेख्नुपर्छ । पत्रकार आफैंले आफ्नो दुःखका बारेमा लेख्दैनन् । अबका पत्रकारले भने लेख्नुपर्छ ।’

कर्णालीबाट एउटा प्रेस पास बनाउनकै लागि काठमाडौंसम्म आइपुग्नुपर्ने बाध्यता आफूले बुझेको मन्त्री गुरुङको दाबी छ । ‘कर्णालीलगायतका अलिक दूर क्षेत्रबाट काठमाडौंसम्म आइपुग्न समय लाग्छ । कति दुःख हुन्छ । घन्टौं लाग्छ, दिनौं लाग्छ । तर, त्यहीँ चाहिँ पत्रकारहरु लेख्दैनन् । अब तपाईंहरु चाहिँ लेख्नुस् । सम्बोधन हुन्छ ।’

यस्तै मन्त्री गुरुङले पत्रकारहरु प्राज्ञिक हुनुपर्ने बताएका छन् । पत्रकार प्राज्ञिक भएको खण्डमा समाचारको गुणस्तर पनि उस्तै हुने भन्दै मन्त्री गुरुङले भने– ‘तर, अब पत्रकार पनि क्वालिफाइड हुनु जरुरी छ । यसो हुँदा पत्रकार स्वयम्लाई मात्रै होइन, सबैलाई नै फलदायी हुन्छ ।’

प्रतिक्रिया