न्युरोड गेटको मर्मत सुरु

काठमाडौं । राणाकालीन समयमा बनेको काठमाडौंको मध्यभागमा रहेको न्युरोड गेटको मर्मत सम्भार सुरु गरिएको छ ।
‘सुन्दर काठमाडौं अभियान’अन्तर्गत काठमाडौं महानगरपाालिकाले न्युरोड गेटको मर्मत सम्भार सुरु गरेको हो ।
न्युरोड गेट मर्मत सम्भारका लागि आरडिआर निर्माण सेवासँग ३९ लाख ९० हजार रुपैयाँमा सम्झौता भएको थियो । गेट मर्मतको काम कार्तिक मसान्तसम्म गरिसक्ने महानगरले जनाएको छ ।
भूकम्पपछि न्युरोड गेटको झिंगटा (छाना) र काठले बनेको छाना भत्किएको थियो । उक्त गेटको समय समयमा जिर्णोद्धार गरिँदै आएको थियो । भूकम्पपछि अन्य संरचनाको मर्मत सम्भारको काम भए पनि न्युरोड गेटको काम भने थालिएको थिएन ।
महानगरले न्युरोड गेटको झिंगटा भत्काएर नयाँ बनाउने र पुरानो गेटलाई नभत्काएर मर्मत गर्नेगरी डिजाइन तयार पारेको हो । गेटमा देवीदेवताका १२ वटा मुर्ति छन् । ती मुर्तिको स्वरुप परिवर्तन नहुनेगरी मर्मत हुने महानगरले जनाएको छ ।
राणाकालीन समयमा बनेको उक्त गेट इँटा, टायल र काठको झिंगटीले बनेको थियो ।








