कोरोनाको डर ठूलो कि भोकमरीको ? (भिडिओसहित)

भक्तपुर । काँधमा खर्पन अनि खर्पनभरी मुठा बाँधेर राखिएको साग भक्तपुरको ‘किसानी पहिचान’ हो । यही पेशा र पहिचानलाई सार्थक बनाउन सयौं किसान हरेक दिन खेतमा पुगिरहेका हुन्छन् । यहाँका किसानलाई जस्तोसुुकै महामारी आए पनि खेत नगई सुखै छैन ।

निषेधाज्ञाको सातौं दिन पनि भक्तपुरका ‘अष्टमान छू’ सधै झैं बोरा बोकेर आफ्नो खेततिर लागे । मनोहरा खोलाको किनारमा छ अष्टमानको खेत । यो खेत उनको आफ्नै होइन । पहिला आफ्नै थियो । पछि पैसाको जरुरी परेपछि बेच्नुप-यो । अहिले उनी आफूले बेचेको त्यही जमिन भाडामा लिएर साग खेती गरिरहेका छन् । मनोहरा किनारमा अष्टमान जस्तै अरु थुप्रै किसान छन्, जो साग उखेल्न र बेर्ना रोप्न ब्यस्त देखिन्छन् ।दैनिक कोरोना संक्रमण र मृत्युको दर बढिरहेको सुन्दा यसरी निर्धक्क खेतमा गएर काम गर्न डर नलागेकै हो त ?

अष्टमानलाई प्रश्नले केही निराश बनायो, ‘पेटको लागि जस्तोसुकै युध्द लड्नुपर्ने रहेछ हामी किसानले । किसान घर बस्नु भनेको बाँकी सबै भोकै पर्नु हो’ अष्टमान भन्छन् ‘ज्यानको माया कसलाई हुँदैन र ? यस्तो महामारीमा यो खेतमा आएर दिनैभरि जोतिनु रहर होईन बाध्यता हो हाम्रो ।’

खेती किसानी अष्टमानको पुस्तैनी पेशा हो । मान्छेहरु जागिर खान गएको देख्दा उनलाई पनि रहर त लाग्छ । तर धेरै पढ्नलेख्न नपाएकाले त्यो सम्भव नभएको उनी बताउँछन् । जिविकोपार्जनका लागि काँधमा सागसब्जी भरिएको खर्पन उचाल्नुको विकल्प उनीसँग छैन । ‘मलाई याद हुँदादेखि नै हाम्रो घरमा दुईवटा खर्पन थिए । बाँसका ती खर्पन अहिले फलामको बनाएको छुँ तर हाम्रो जीवनशैली पुरानै छ । नेवारी समुदायमा पनि जातको वर्गिकरण छ । हामी ज्यापु हौँ । खेती किसानी नै हाम्रो मुख्य पेशा हो ।’ अष्टमान भन्छन् ।

‘ज्यापुहरुले भर्खर मात्र पढ्ने लेख्नेमा समय र पैसा लगाउन थालेका छन् । नत्र बाबुले साग रोप्थे अनि छोराले पनि त्यही पेशा अँगाल्थे । मैले आफ्नो दुखको अनुभवकै आधारमा छोरालाई पढाएको छु । म चाहन्छु मेरो छोरालाई जिविकोपार्जनका लागि खर्पन बोक्न र साग रोप्नु मात्रै बिकल्प नहोस् ।’ अष्टमानले एक सासमै बताए ।उनका छोरा अहिले मेकानिकल इन्जिनियर रहेछन् । छोरोले अहिले जागिर खाने र परेका बेला आफूलाई खेतमा पनि सघाउने उनले बताए । साग खेतीबाट नै घरखर्च, भोज र छोराहरुको पढाई खर्च जुटाएको यति गर्विलो पेशाबारे उनले सगर्व सुनाए । र थपे- ‘अब कोरोना छ भन्दैमा घरमा बस्यो भने त रोगले नमरे पनि भोकले पक्का मरिन्छ । त्यसैले दैनिक खेतमा आउँछु ।’

°°°

ज्ञानरत्न चक्रधरको दुख पनि अष्टमानको भन्दा भिन्न छैन । उनी श्रीमती कृष्णकुमारीसँगै सानोठिमीमा रहेको खेतमा धनियाँको मुठा बाँध्न ब्यस्त थिए । उनको न मुखमा मास्क थियो न हातमा पन्जा । कोरोना महामारीले ज्ञानरत्नलाई झन् ठूलो झड्का लागेको छ । अघिल्लो वर्ष चैत्र ११ गतेबाट भएको लकडाउनको केही अघिमात्र उनले भक्तपुरको साग आफै बेच्न चावहिलमा सटर भाडामा लिएका थिए ।

बिचौलियाको मार झेल्न गाह्रो भएर आफ्नो बारीको तरकारी आफै उपभोक्तासम्म पु-याउने जमर्को गरेका उनको कोशिस सफल हुन सकेन । लकडाउनले थला पारेको बजारमा उनको उत्पादन सागले उचित मूल्य पाउन सकेन । ज्ञानरत्न ऋणमा चुर्लुम्म डुबे । ‘यही कोरोनाको कारण मैले बुबाको पालादेखि बस्दै आएको घर बेच्नुप-यो । मेरो एकजना साथीले आत्महत्या नै गरे । म पनि हैरान भएको थिएँ आम्दानी केही नहुँदा झन्डै भोकै बस्नुपर्ने स्थिती आएको । बल्ल बजार खुलेको थियो । बारीको सबै साग उखेल्ने बेला भएको छ । यसपाली पनि यो साग खेर जाने भयो’ दुखी हुँदै ज्ञानरत्नले सुनाए-जग्गाको भाडा कसरी बुझाउने भन्ने तनाव शुरु भइसक्यो ।’

ज्ञानरत्नले कामका बेला एकछिन सुस्ताउन र घाम पानी छेक्न खेतमै छाप्रो बनाएका छन् । उनी सानोठिमी क्याम्पसको जग्गामा १२ वर्षदेखि साग सब्जी खेती गर्दै आएका छन् । ठेकेदारमार्फत भाडामा लिएको ३ रोपनी जग्गाको बार्षिक ७० हजार रुपैयाँ भाडा बुझाउँछन् । तीन रोपनीमा लगाएको चम्सुर पालुङ्गो, रायो, पुदिना अब फेरी खेरजाने अवस्था आएको छ ।

स्थिती सामान्य हुँदा ज्ञानरत्नले मल र बिउको पैसा कटाएर मासिक ४० हजारसम्म आम्दानी गर्थे । मुठाको ४० रुपैयासम्म पर्ने पुदिना अहिले मुठाको १५ रुपैयामा पनि बिक्दैन । ठूलाठुला होटलमा साग र पुदिना बिक्री गर्ने गरेका ज्ञानरत्न अहिले नाफा होइन लगानी उठाउनै धौ धौ पर्ने अवस्थामा छन् ।

तर पनि खेतमा जान छोड्ने कुरा त भएन । खेत सर्बस्व जो हो । बिहान खाना खाने बित्तिकै खेतमा पुग्ने ज्ञानरत्न र कृष्णकुमारी बेलुकी ६ बजेतीर मात्रै फर्कन्छन् । साग र अरु तरकारीले भरिएको खर्पन बोकेर उनी भक्तपुरको नगादेशसम्म पुग्छन । त्यहाँबाट गाडीले तरकारी लैजान्छ । नगदेशमा ३ सय भन्दा धेरै खर्पन हुन्छन् । खर्पन मेला जस्तै हुन्छ । मान्छे नै मान्छे हुन्छन् । ज्ञानरत्न भन्छन् ‘अब के गर्नु कोरोना सर्छ भन्ने डरले साग बारीमै सडाउन पनि सकिन्न । भिडमा पनि जानै प-यो । मास्क चाहिँ लगाउने गरेको छु ।’

ज्ञानरत्नले भने, ‘हामी किसानलाई खेतबारी नै घर हो । कोरोनाको प्रभाव बजारमा परेपनि हाम्रो दैनिकीमा परेको छैन ।’

हो पनि किसानले खेती नगरिदिए उत्पादन खेतबाट बजारसम्म नपुर्याइ दिए अरुमानिस पनि भोकै हुन्छन् । महामारीका बेला सकेसम्म सतर्कता अपनाउन दिंदा उनी मुस्कुराए ।

प्रतिक्रिया