एमाले नेताको भनाइ– ‘सामूहिक राजीनामा दिँदैनौँ, फ्लोर क्रस गर्छौँ’

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ । नाम नखुलाउने सर्तमा विपक्षी एमालेका एक नेताले मकालु खबरसँग भने– ‘पार्टी अध्यक्ष केपी ओलीप्रति हाम्रो अलिकति पनि विश्वास छैन । हामी उहाँलाई विश्वासको मत दिँदैनौँ ।’

प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ गते सदनबाट विश्वासको मत लिन संसद्को विशेष अधिवेशन बोलाएका छन् । यससँगै उनलाई आफ्नै दल एमालेको नेपाल खनाल पक्षले विश्वासको मत देला कि नदेला भन्ने उत्सुकता बढिरहेका बेला कुनैपनि हालतमा ओलीको पक्षमा मतदान नगर्ने ती नेताको दाबी छ ।

तपाईंहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुन्छ ? भन्ने मकालु खबरको प्रश्नमा ती नेताले भने– ‘यथास्थितिमा कसरी दिन सक्छौँ र विश्वासको मत ? उहाँलाई विश्वासको मत दिन सक्ने स्थिति नै छैन । कुनै पनि हिसाबबाट हामीले विश्वासको मत दिनुपर्छ भन्ने लागेको छैन । यही अवस्थामा हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौँ ।’

यसको मतलब विपक्षमा मतदान गर्नुहुन्छ त ? भन्ने जिज्ञासामा ती नेता भन्छन्– ‘हामी फ्लोर क्रस गर्छौँ ।’

नेपाल–खनाल पक्षका ३० जना नेतालाई कारबाहीका लागि स्पष्टीकरण सोध्नेदेखि जिम्मेवारीबाट हटाउनेसम्मका गतिविधिप्रति असन्तुष्टि जनाउँदै ती नेताले थपे– ‘हामीलाई कारबाही गर्ने प्रधानमन्त्रीमाथि कसरी विश्वास गरौँ ? यो अर्थमा पनि हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौँ ।’

आफूहरुले सामूहिक राजीनामा भने नदिने उनको भनाइ छ । ‘हामी सामूहिक राजीनामा दिने पक्षमा छैनौँ र दिँदैनौँ पनि ।’ पार्टीभित्र सामूहिक राजीनामाको सम्बन्धमा कुराकानी नभएको पनि ती नेताको दाबी छ ।

जसरी पनि प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने र हटाउने आफूहरुको लाइन रहेको र यसकै लागि लागिपर्ने ती नेताको भनाइ छ ।

प्रतिक्रिया