प्रधानमन्त्री पुगे देउवा निवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

कांग्रेससहितका ४ दलले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि गठबन्धन बनाएपछि ओली देउवालाई भेट्न उनकै निवास पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाकाअनुसार प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत पनि बुढानीलकण्ठ पुगेका छन् ।

आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तापक्षीय एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा ४ दलको गठबन्धनबाट विपक्षी एमाले नेता खिमलाल देवकोटाको नाम चर्चामा छ । यसो हुँदा बादललाई जिताउनैपर्ने धपेडी भएको प्रधानमन्त्री बुढानीलकण्ठ पुगेर देउवालाई भेटेका हुन् ।

चुनावी गठबन्धन नै भन्दै कांग्रेस, माओवादी, विपक्षी एमाले र डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षीय जसपा एकातिर देखिएका छन् ।

प्रतिक्रिया