लुम्बिनी प्रदेशका सांसद डाँगीले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले मकालु खबरलाई दिएको जानकारीअनुसार सांसद डाँगीले बुधवार नै राजीनामा दिएका हुन् ।

नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित डाँगीले बिरामी भएको र आराम गर्नुपर्ने हुनाले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘बिरामी भएर आराम गर्नुपर्ने भएको छ,’ सांसद डाँगीलाई उद्धृत गर्दै सचिव मगरले भने– ‘त्यसैले राजीनामा दिएको हुँ ।’

सांसद डाँगीले आजै सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाइसकेका छन् । बुझिएअनुसार सांसद डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

प्रदेशमा आजै चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ र धर्मबहादुर लाल श्रीवास्तवले मन्त्रीको शपथ ग्रहण गरेका थिए । यसअघि सांसद दूगनारायण पाण्डेयले पनि राजीनामा दिएका थिए ।

प्रतिक्रिया