निषेधाज्ञामा पशुपति क्षेत्र: दर्शन बन्द, घुमफिर चालु

काठमाडौँ । कोभिड-१९ को दोस्रो लहरको असर नेपालमा देखिएको छ । ‘चेन ब्रेक’का लागि सरकारले स्थिति हेरेर निषेधाज्ञाको अधिकार प्रशासनलाई दिएको छ र काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ ।

अस्पतालहरूमा बेड खाली नभएको भनेर सरकारले भनिरहेको छ । यही अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । तर सडक, पार्क, मठमन्दिर हेर्दा आम नागरिकले सचेतना अपनाएको देखिँदैन ।नयाँ भेरिएन्टको भाइरसको सङ्क्रमण फैलिन थालेसँगै वैशाख १० गतेबाट पशुपति क्षेत्र आम दर्शनार्थीका लागि बन्द गरिएको छ । दैनिक आरतीसमेत भक्तजन नराखी गर्ने निर्णय भएको छ । तर, निर्णय जस्तो भएपनि व्यवहारमा भने त्यो लागु हुन सकेको छैन । साँझपख हावा खान भन्दै आउने आम नागरिकका कारण पशुपति क्षेत्र अस्तव्यस्त देखिएको छ ।दुई युवा बिना मास्क पशुपति मन्दिर परिसरमा भेटिए । किन आउनु भएको ? भन्ने हाम्रो प्रश्नमा सहज जवाफ दिँदै उनीहरू भन्छन्, ‘दिनभर घरमा बस्दा पट्यार लाग्छ । के गर्ने त ?’ अर्का युवा भन्छन्, ‘यति खुल्ला वातावरण फेरी कहिले पाइएला र काठमाडौँमा ?’ । उनीहरू तीनकुनेबाट हिँड्दै पशुपति आइपुगेका हुन् रे । हिँडेर आउँदा प्रहरीले नरोक्ने र नसोध्ने भएकाले आफूहरू हिँडेर आएको उनीहरू बत्ताउँछन् ।

त्यस्तै, क्याम्पस पढ्ने एक युवती साँझ पर्नैलाग्दा आइपुग्छिन् । कोभिडको यस्तो प्रकोप छ । केही हुन्छ कि भन्ने डर छैन ? उनी केही बहकिएको जवाफ दिन्छिन्, ‘मलाई त मर्न डर छैन । आफ्नाहरूलाई केही भयो भने के गर्ने होला भन्ने डर लाग्छ ।’ यति भन्दै गर्दा पनि उनी निस्फिक्री बिना कुनै काम घुम्दै छिन् ।चिया बेच्दै एक अधबैँसे महिला आइपुग्छिन् । उनी मानिसहरूको नजिक गएर चिया खान आग्रह गर्छिन् । उनी प्रत्येक दिन नै चिया बेच्न यो क्षेत्रमा आउने गरेको बताउँछिन् । ‘पेट पाल्नै प-यो । पहिले चार थर्मस् चिया बिक्री हुन्थ्यो । अहिले २ वटा पनि गाह्रो छ’ । उनको कुरा सुन्दा लाग्छ उनलाई रोगको त केही डर छैन ।

विद्यालयको टिसर्ट लाएकी एक बालिका र उनका केही साथीहरू सिडीमा माग्न बसेका छन् । किन त ? विद्यालय छुट्टी भएकोले पैसा कमाउन आएका रे उनीहरू । मास्क लगाएका त छन् तर चिउँडोमा । एक कक्षामा पढ्ने बताउने उनले आफ्ना अभिभावक पनि सोही एरियामा काम गर्ने बताउँछिन् । उनी मागेर आएको केही रकममा दङ्ग छिन् ।पशुपति क्षेत्रमा मर्मत संहारको काम चलिरहेको छ । निषेधाज्ञामासमेत काम नरोकिएको कामदार बत्ताउँछन् । सुरक्षित छ त ? उनीहरू भन्छन्, ‘पेट त भर्ने प¥यो ।’ उनीहरू सर्वसाधारणको भिडभाड देखेर डराउँछन् । यस्तो अवस्थामा त नआए हुन्थ्यो भन्ने पनि लाग्छ । तर केही भन्न सक्दैनन् । डर कै माहौलमा काम गर्न बाध्य छन् उनीहरू ।

७० वर्ष काटेका वृद्धहरूसमेत गफिदै देखिन्छन् । कोही बनकालीबाट दौडिँदै असीन-पसिन भएर आएका छन् । कोही, जोडी बनाएर रोमान्स गर्नकै लागि आए झैँ देखिन्छन् । समग्रमा, निषेधाज्ञा नियममा छ, कागजमा छ । तर, सुनसान हुनु पर्ने ठाउँमा भिडभाड नै छ ।

प्रतिक्रिया