रेम्डिसिभिर बढी मूल्यमा बेचे कारबाही

काठमाडाैँ । औषधि व्यवस्था विभागले कोभिड-१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारबाही गर्ने भएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने बताए ।उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने बताए ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न/नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डिसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करिब पाँच हजार पर्छ ।

प्रतिक्रिया