यमलालले सुम्पेको ओलम्पिक सपना…

धनगढी । मानिस सपना पूरा गर्ने सपना देखेरै बाँचिरहेको हुन्छ । सपना च्यापेर दौडिरहेको हुन्छ । सपनाहरुले नै त हो‚ मानिसलाई बाँचुन्जेल दौडाउने ।

अवस्था यस्तो पनि आउन सक्छ‚ सपना त्यागेर सकिन्छ जीवनरुपी बत्तिको सलेदो । निभ्छ जीवनको ज्योती नै झ्याप्प…।

मतलब अधुरै रहन्छन् सपनाहरू । आखिर सपना सबै पूरा हुन्छन् वा हुनैपर्छ भन्ने के नै छ र ?

साइकलयात्री यमलाल रसाइली प्रायजसो सुनाउने गर्थे‚ उनको एक सपना । पारा ओलम्पिकमा सहभागी हुने । सहभागी हुने कर्मकाण्डमात्र होइन‚ विजयी नै हुने । पदक भित्र्याउने । ‘यो मेरो जीवनको सपना हो’ उनी भनिरहेका हुन्थे‚ ‘म यो पूरा गरेरै छोड्छु ।’ जबजब उनी यो सपना सुनाइरहेका हुन्थे उनको मनभित्रको आत्मविश्वास अनुहारमा देखिन्थ्यो । त्यही आत्मविश्वासले आभाले हुनुपर्छ‚ सपना सुनाउँदै गर्दा उनको अनुहार उज्यालो देखिन्थ्यो ।

एक खुट्टाकै भरमा २०५९/६० तिर मेची–महाकाली साइकल यात्रा पूरा गरिसकेका कैलालीको लम्कीचुहा नगरपालिकाका–१ का साइकलयात्री यमलाल रसाइलीका अझै थुप्रै सपना थाँती थिए । उनले केही वर्षअघि मुगुको रारा तालसम्म पनि साइकल यात्रा गरेका थिए । भारतमा आयोजना भएका लामो तथा छोटो दूरीका थुप्रै प्रतिस्पर्धामा सफल साइकल यात्रा पनि गरिसकेका थिए । काठमाडौंमा बस्दा पनि उनी साइकलयात्रीका लागि प्रेरणाका श्रोत थिए ।

तर सबै सपना कहाँ पूरा हुन्छन् र ?

यमलालका धेरै सपना पूरा भए । लडेर बनेको घाउ बढ्दै गएपछि खुट्टै काट्नुपरे पनि साइकल चलाएर सबैलाई चकित बनाउन सक्नु चानचुने सपना थिएन ।

तर त्यही सपनाचाहिँ पूरा हुन पाएन‚ जसलाई उनले सर्वाधिक महत्व दिने गर्थे ।

अपाङ्गता भएका व्यक्तिका लागि प्ररणाका स्रोत बनेका रसाइली अब यो संसारमा रहेनन् । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सिकार भए । उनीसँगै अस्ताए थाँती रहेका उनका सबै सपनाहरू । उनीमात्रै अस्ताएनन्, उनीमाथि परिवार र आफन्तले देखेका सपना पनि अस्ताए । परिवार एक्लियो ।

देशकै लागि उनले राख्न सक्ने एक सम्भावित ‘रेकर्ड’ को अवसरबाट देश पनि चुक्यो ।

कोरोनाको जोखिमबाट बचाउन उनले मास्क सिलाउने काम गरे । तर उनी स्वयम् भने जोगिन सकेनन् । घरमै बसिरहेका उनलाई कोरोना संक्रमण हुनपुग्यो । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो ।

अवस्था नाजुक भएपछि भेन्टिलेटरमा उपचार हुँदै थियो । तर शुक्रबार बिहान ४ बजे उनले प्राण त्यागे । खुट्टा गुमाएर पनि हिम्मत नगुमाएका यमलाल कोरोनासँग पराजित हुन पुगे ।

उनी अपांगता भएकाहरूका लागि आडभरोसाका बलियो मियो थिए । प्रेरणापुञ्ज थिए । नेपाल अपाङ्ग महासंघको केन्द्रीय सदस्य तथा अपाङ्गता सचेतना समाज लम्कीका कोषाध्यक्ष भएर अपाङ्गताका क्षेत्रमा सक्रिय थिए ।

चार वर्षको हुँदा लडेर घाउ भएको खुट्टा तत्कालै उपचार नपाउँदा पछि काटेर फाल्नुपरेको थियो । चार वर्षदेखि नै संघर्षपूर्ण जीवन बिताएका उनी करिब तीन दशकअघि नै कैलाली झरेका थिए । अपाङ्गता भएकै कारण हेय वा कसैको मायाको पात्र बन्नु हुँदैन भन्ने मान्यता राख्ने उनी एक मेहिनेती व्यवसायीसमेत थिए ।

२०४६ सालतिर सिलाइ/कटाइ तालिम लिएर व्यवसाय सुरु गरेका उनले लम्कीमा मुनलाइट टेलरिङ सेन्टर खोलेर चलाइरहेका थिए । उनी विभिन्न ठाउँमा सिलाइ/कटाइ सम्बन्धी प्रशिक्षण दिँदै मानिसलाई आत्मनिर्भर बन्न सहयोग गर्थे ।

एक खुट्टाकै भरमा साइकल यात्रा गरेर उनले अपाङ्गता हुनु भनेको असक्षम हुनु होइन‚ फरक रुपमा सक्षम हुनु हो भन्ने कुरा प्रमाणित गरेका थिए ।

तर, ‘हुने हार दैव नटार’ भनेजस्तै जीन्दगीले दिएका अनेकौँ हन्डर र ठक्कर छिचोल्दै जंघार र सागर तर्दै हरेकजसो परीक्षामा आफूलाई अब्बल साबित गरेका यमलाल विश्वभरि फैलिएको महामारीसँग भने परास्त भए ।

करिब ४ दशकको जीवन जिउने क्रममा यमलालले जिएको जीवन जो-कोहीका लागि प्रेरणादायी छ । उनले देखेका सपना‚ पूरा गर्नुपर्ने सपना शायद नेपालको अर्को कुनै ‘पारा एथलिट’ को काँधमा पुगेको छ ।

प्रतिक्रिया