मध्यरातिदेखि उडान बन्द, अत्यावश्यक परेमा के गर्ने ?

काठमाडौँ । सरकारले आज मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेका आधारमा सरकारले उडान रोक्ने निर्णय गरेको हो । कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आज राती १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री पार्वत गुरूङले जानकारी दिए ।

उनका अनुसार वैशाख २२ गते (बुधबार)मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिइने मन्त्री गुरूङले बताए ।

अत्यावश्यक परेमा के गर्ने ?
अत्यावश्यक सेवा तथा काम लागि पास चाहिने छैन । निषेधाज्ञामा कडाइ गरिने भए पनि अत्यावश्यक सेवा तथा काम लागि भने नचाहिने भएको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले तोकिएका सेवाका लागि पास नचाहिने जनाएका हुन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा कुरुवा, मृत्यु संस्कारमा जानु पर्ने व्यक्तिको हकमा पास आवश्यक पर्ने छैन ।

तोकेका कार्यमा जाँदा कतै अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न सकिनेछ । तर, अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा भने सम्बन्धित जिल्ला प्रशासनबाट पास लिनुपर्नेछ । कोभिड १९ संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।

प्रतिक्रिया