लुम्बिनीमा ‘अलोकतान्त्रिक खिचातानी’ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन‚ बल मिच्याइँ र घोर अलोकतान्त्रिक प्रवृत्ति भएको आरोप लगाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको राजनीतिक चलखेल अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति भएको भन्दै कांग्रेसले त्यसको कडा शब्दमा निन्दा गरेको हो ।
यसका साथै प्रदेशमा मुख्यमन्त्रीसँग बहुमत नहुँदानहुँदै पुनः मुख्यमन्त्रीमा नै नियुक्त गरिनु आपत्तिजनक भएको कांग्रेसले जनाएको छ ।
‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमोलगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य मान्यताविपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ ।’
मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनीतिक‚ संवैधानिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको बताएका हुन् ।
‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘ केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ । बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमतअनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु ।’








