‘लुम्बिनीमा जसपाका मन्त्रीहरु यथावत् रहनुहुन्छ’

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबेरै पदबाट राजीनामा दिए । त्यसपछि क्रमशः तातिएको प्रादेशिक राजनीतिको तापक्रम दिनभरिजसो नै झन्झन् बढ्यो ।

आफूविरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावलाई छल्न राजीनामा दिने र लगत्तै एमाले मात्रको बहुमतको सरकार बनाउने रणनीतिअनुसार राजीनामा दिएका पोखरेलले सोचेजस्तो भने भएन । भलै, उनी ‘बहुमत प्राप्त दलकै नेता’ को हैसियतमा मुख्यमन्त्रीमा पुनःनियुक्त भने भइसकेका छन् । तर, उनले पद तथा गोपनीयताको शपथ लिन नपाउँदै प्रदेशको राजनीति गोलचक्करमा फसेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत दलका ४२ जना सांसदले पोखरेलसँग बहुमत नभएको दाबीसहित प्रदेश प्रमुखसमक्ष लिखित निवेदन दिएका छन् । प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी दलका सांसद पोखरेललाई सपथ ग्रहण गराउन नहुने भन्दै धर्नामै बसेका छन् ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै गत ६ वैशाखको संकटमै मुख्यमन्त्री पोखरेललाई साथ दिएका ४ मन्त्रीको पद स्वतः गएको छ । मन्त्री बन्नका लागि सांसद र पार्टीसमेत त्याग्न तयार भएका उनीहरुको अवस्था हेरेर धेरैले चोक्टा खान गएको मान्छे झोलमा डुबेको उखानजस्तो भएको पनि स्मरण गरे ।

पार्टीको बहुमत कार्यकारिणी सदस्यहरुको बैठकले कारबाही गरेपछि सांसद पद गुमाएका ४ मन्त्रीले भने आफ्नै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका जिकिर गरेका छन् । भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेयले मकालु खबरसँगको कुराकानीमा दाबी गरे– ‘मुख्यमन्त्रीजी र हाम्रो बारेमा सहमति भएको छ । हामी मन्त्रीकै हैसियतमा रहन्छौँ । हाम्रै सल्लाहमा मुख्यमन्त्रीजीले राजीनामा दिनुभएको हो ।’

एमालेको एकल सरकार गठनबारे चलेको चर्चा हल्ला मात्रै भएको पनि मन्त्री पाण्डेयको तर्क छ । उनले भने– ‘हामी त अझैपनि सरकारमै रहन्छौँ । एकल सरकार भनेको चाहिँ माओवादी नसमेट्ने भन्ने हो ।’

यता, एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ले पनि मुख्यमन्त्री पोखरेललाई संकटमा साथ दिने जसपा मन्त्रीलाई एमालेले नछोड्ने बताएका छन् । ‘लुम्बिनीमा शंकर पोखरेल नै मुख्यमन्त्री बनिसक्नुभयो,’ नेता नेम्वाङ्गले मकालु खबरसँग भने– ‘अब जसपाका मन्त्रीहरु अझै मन्त्री रहनुहुन्छ ।’

लुम्बिनीमा त एमालेको एकल सरकार बनाउने एमालेकै प्रदेश संसदीय दलले निर्णय गरेको होइन र ? भन्ने प्रश्नको जवाफमा नेम्वाङ्ग भन्छन्– ‘त्यसो होइन, ती साथीहरु पनि हामीसँगै रहनुहुन्छ । उहाँहरुलाई हाम्रो र उहाँहरुको हामीलाई साथ छ । उहाँहरु अझै पनि मन्त्री नै हुनुहुन्छ ।’

मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा बहुमत रहेकै बेलामा मुख्यमन्त्रीमा पुनःनियुक्ति भएको नेता नेम्वाङ्गको भनाइ छ । ‘अब मुख्यमन्त्री शंकर पोखरेल नै बनिसक्नुभयो । अब दुई वर्ष सरकारमा उहाँ नै बस्नुहुन्छ,’ नेता नेम्वाङ्गले भनेका छन् ।

तर, एमाले र नेम्वाङ्गले दाबी गरेपनि बहुसंख्यक सांसदले हस्ताक्षर गरेर बहुमतको समर्थन पोखरेललाई नरहेको बताइसकेको अवस्थाले नयाँ कचिङ्गचल जन्माएको छ । यो जटिलताको व्याख्या र निरुपणको जिम्मा ढिलोचाँडो अदालतमा पुग्नेछ भन्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया