प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । शनिवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सोबारे जानकारी गराएको एक मन्त्रीले मकालु खबरलाई जानकारी दिए । ‘उहाँले जानकारी गराउनुभएको छ,’ ती मन्त्रीले भने– ‘सम्भवतः उहाँले आउँदो २७ गते लिनुहुन्छ ।’

गत वर्षको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाअनुरुप पूर्ववत् अवस्थामा फर्केपछि माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न शीतलनिवास पुगेको एक एमाले नेताले मकालु खबरलाई जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच वर्तमान राजनीतिक परिदृश्यका बारेमा छलफल भएको छ । तीन नेताले भने– ‘उहाँहरुबीच वर्तमान राजनीतिबारे छलफल भएको भन्ने छ ।

आइतवार नै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । आफूविरुद्ध प्रदेशमा परेको अविश्वास प्रस्तावलाई छल्न राजीनामा दिएका मुख्यमन्त्री पोखरेल बहुमत सदस्य प्राप्त दलकै हैसियतमा पुनःनियुक्तिसमेत भइसकेका छन् ।

तर, त्यहाँ माओवादी नेता कूलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफूले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । अहिले मुख्यमन्त्री पोखरेललाई शपथ ग्रहण गर्न नदिने प्रयोजनसहित विपक्षी दलहरुको सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका छन् ।

प्रतिक्रिया