भारतमा एकैदिन थपिए झण्डै चार लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरानो भाइरसबाट थप झण्डै चार लाख मानिस संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोना भाइरसको संक्रमण भएको हो ।
यसअघि हिजो एकैदिन सबैभन्दा धेरै चार लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको संख्या अघिल्लो दिनको भन्दा केही कम हो ।
भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूमध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड एक लाख ४२ हजार ३३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख चार हजार ९५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको छ ।









