मन्त्रिपरिषद् बैठक बस्दै, के हो एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आइतवार अपराह्न बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मकालु खबरलाई बताएअनुसार बैठकमा खासगरी सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुनेछ । ‘नियमित बैठक सोमवार भएपनि प्रधानमन्त्रीज्यूले आजै बैठक बोलाउनुभएको छ,’ मन्त्री ज्ञवालीले भने– ‘समसामयिक विषयहरु त छँदैछन्, त्यसबाहेक आजको बैठकमा खासगरी यथास्थितिमा रहेको महामारीलाई कसरी न्यून गर्ने र सीसीएमसीले गरेको सिफारिसबारे के गर्ने भन्नेबारे छलफल हुन्छ ।’
यसअघि शुक्रवार बसेको सीसीएमसीको बैठकले उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौंथाइ शाखामा एक चौंथाइ कर्मचारी राखेर सञ्चालन गर्नेलगायतका १२ निर्णयहरु गरेको थियो ।
आजको मन्त्रिपरिषद् बैठकले तिनै विषयहरुमा छलफल गर्ने र निर्णय लिने बताइएको छ । उक्त सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।








