कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका-६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको पहिचान खुलेको छ ।

मृत भेटिएका बालक तुलसीपुर-६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गए राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले बताए ।

उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको प्र्रहरीले जनाएको छ ।

प्रतिक्रिया