सपनाले भरेको उडान

हरेक मानिसको आफ्नै कथा हुन्छ भनिन्छ । त्यस्तो कथा जसले जिन्दगीको गोरेटो पहिल्याउन सघाओस् । त्यस्तो कथा जसले सफलताको चुचुरो चुम्न होस्टे हैंसे गरोेस् । जीवनमा केही यस्ता कुरा हुन्छन् जसले समस्या र चुनौतीका चाङ् छिचोलेर अघि बढ्न हौसला दिन्छन् ।
रञ्जना धामीले गरेको संघर्ष र प्राप्त गरेको सफलता जो कोहीले सजिलै प्राप्त गर्न नसक्ने खालको छ । सबैलाई आफ्नो क्षमतामाथि रञ्जनालाई झै बिश्वास नहुन सक्छ, न त उनको झैं लगातार अघि बढ्ने शाहस नै ।
बाराको निजगढमा जन्मिएकी रञ्जना आमभन्दा फरक अवस्था लिएर जन्मिइन् । उनको जन्मजात दाहिने हात काटिएको थियो । परिवारकी जेठी छोरी अपाङ्गता लिएर जन्मिंदा बुबाआमालाई पनि नरमाइलो लाग्यो नै । मेरो कारण बा आमा दुखी बन्नुपर्यो भन्ने सम्झँदा रञ्जनालाई त्योभन्दा बढी नरमाइलो लाग्दो रहेछ ।
‘पहिलो बच्चाले बा आमालाई खुशी ल्याउनुपर्नेमा मैले उहाँहरुलाई दुखी बनाएँ यो सम्झँदा मलाई पनि नमज्जा लाग्छ तर के गर्ने यो मेरो रहरको कुरा थिएन ।’ रञ्जना भन्छिन् ।
आफ्नो एउटा हात नभएको कुरा उनलाई चार वर्षको उमेरमा थाहा भयो । थाहा भएर पनि उपाय के नै थियो र ? जीवन टक्क रोक्न सकिंदैनथ्यो । बास्तविकतालाई स्वीकार गर्नैपथ्र्यो । बुबा चितवन राष्ट्रिय निकुञ्जमा जागिरे भएकाले उनको परिवार चितवन बसाईँ स-यो । रञ्जना सौराहा मै हुर्किईन् । पाँच वर्षसम्म उनको परिवार सौराहामा बस्यो । त्यहीं उनले साईकल चलाउन सिकिन् ।
रन्जना सम्झिन्छिन्, ‘हरियो रङ्को अग्लो साइकल हुन्थ्यो । म त बुढो साइकल भन्छु त्यसलाई… हो, सुरुमै त्यस्तो साइकल सिकेको मैले । मान्छे चकित परेर हेर्थे । म बच्चै थिएँ, त्यसमाथि एउटा हात नभएको । अचम्म मान्नु स्वभाविक नै हो ।’
२०५५ सालमा रञ्जनाको परिवार निजगढ स-यो । बुबा श्रीनारायणले ब्यक्तिगत कारणले निकुञ्जको जागिर छोडेका थिए ।
बुबाको हातमा सिप थियो । गाडी चलाउन थाले ।
२०६१ सालमा रञ्जना स-परिवार ललितपुरको खुमलटारमा बस्न थालिन् । १० कक्षासम्मको पढाइ सक्न चारवटा विद्यालय फेर्नुपर्यो । जसले गर्दा उनको पढाई २ बर्ष ढिला पनि भयो । परिवारले झेलिरहेको आर्थिक समस्याको कारण यति धेरै विद्यालय फेर्नुपरेको उनी बताउँछिन् ।
रन्जनाले २०६९ सालमा मेरीवार्ड उच्च मावि लुभुबाट एसएलसी पहिलो श्रेणीमा पास गरिन् । गणितमा कमजोर भएकाले पहिलो श्रेणी आउने आश थिएन तर उनी स्वयम, परिवार र सिंगो विद्यालयलाई नै दङ्ग बनाउने गरिको नतिजा आयो ।
अनि बाटो मोडियो
रञ्जनाले १२ कक्षा ललितपुर कुमारीपाटीको ब्लुबर्ड कलेजबाट उत्तिर्ण गरिन् । ठ्याक्कै यही समयमा उनको खेल जीवन पनि सुरु भयो । यो उनले सोच्दै नसोचेको कुरा थियो । नसोचेको विषयको कुनै योजना हुने कुरै भएन ।
१२ कक्षाको अन्तिम परीक्षा सकिएपछिको एकदिन उनकी साथीले चाबहिलमा रहेको दृष्टिविहिनहरुको एउटा संस्थामा जान सहयोग मागिन् । त्यो दिन उनको लागि सबैभन्दा ठूलो मोड बनेर आइदियो । जसले, एकातिर हिंडिरहेको उनको जीवनलाई फनक्कै अर्कोतिर फर्काइदियो ।
साथीसंगै पुगेकी उनले त्यहाँ एकजना महिलालाई भेटिन् । जसको नाम अहिले उनलाई थाहा छैन । ति महिलाले एकजना खेलाडीको सम्पर्क नम्बर रञ्जनालाई दिइन् । रञ्जना ती महिला खेलाडीलाई भेट्न गइन् । उनलाई ती खेलाडीको नाम पनि अहिले हेक्का छैन तर, उनको पनि एउटा हात नभएको भने बिर्सेकी छैनन् ।
उनीसँगको भेटमा रञ्जनाले खेल र अपाङ्गता भएका मानिसको खेलकुदमा सहभागीताबारे धेरै कुरा बुझ्न पाइन् । जसले उनलाई खेलप्रती चासो मात्र बढाएन उनले खेल जगतमा प्रवेश गर्ने निधो नै गरिन् ।
त्यही क्रममा रञ्जनाको भेट तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कल्याण कुँवरसँग भयो । यो अवसर लोकेन्द्र आचार्यले जुराइदिएका थिए । लोकेन्द्र पनि रञ्जनाका गुरु हुन् । रन्जनाले कल्याणलाई भेटेको एक हप्ता मात्र भएको थियो । कल्याणले रञ्जनालाई तेक्वान्दो तालिमका लागि दशरथ रङ्गशाला बोलाए । यसरी, रञ्जना तेक्वान्दोमा प्रवेश गरिन् । यो सन् २०१५ को कुरो हो ।
‘तेक्वान्दोमा हातभन्दा पनि खुट्टाको धेरै काम हुने थाहा पाएपछि मैले तेक्वान्दो खेल्ने निर्णय गरेँ र मलाई तेक्वान्दो सिक्न धेरै समय पनि लागेन’ उनी भन्छिन् । तालिम नि:शुल्क थियो ।
लगालग सफलता
तेक्वान्दो सुरु गरेकै वर्ष रञ्जनाले अन्तराष्ट्रिय खेल जगतमा पाइला टेक्ने अवसर पाइन् । रुसमा भएको ‘आईवाज गेम’ प्रतियोगिताका लागि रन्जना छानिइन् । अपाङ्गता भएका व्यक्तिका लागि आयोजना गरिएको प्रतियोगितामा ३४ देशका खेलाडी सहभागी थिए ।
रञ्जनाको खेल जीवनको शुरुवातमै सहभागि हुन पाएको अन्तराष्ट्रिय प्रतियोगिताले उनलाई धेरै कुरा सिकायो । रन्जनाले सम्झिन्छिन्, ‘पहिलो खेल त्यो पनि रसियामा खुशीको सिमा नै थिएन । प्लेन चढ्न पाउने भनेर खुब रमाइलो लागेको थियो । घरबाट सधै सहयोग र हौसला दिनुहुन्थ्यो । सबै खर्च तेक्वान्दो महासंघले नै बेहोर्ने भएकाले पनि खर्चको चिन्ता थिएन ।’
उनी तेस्रो भइन् । भर्खरै शुरु गरेको खेलमा यत्रो सफलता ! एसएलसीको नतिजा जस्तै आफैंलाई विश्वास नलाग्ने जस्तो नतिजा थियो ।
फर्किएपछि रञ्जनालाई तेक्वान्दो महासंघले १० हजार रुपैयासहित सम्मान ग-यो । खुशी थपिंदो थियो । सन् २०१६ मा फिलिपिन्समा भएको दोश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा रञ्जना नै छनोट भइन् । त्यहाँ उनले दोश्रो स्थान हासिल गरिन् ।
अर्को बर्ष २०१७ मा कोरियामा भएको एसियाली च्याम्पियनसिपमा उनी भइन् । त्यहि वर्ष बेलायतमा भएको वल्र्ड पारा तेक्वान्दो च्याम्पियनसिपमा उनी तेश्रो हुँदै कास्य पदक जित्न सफल भईन् ।
त्यसपछि पोल्यान्डमा भएको पाचौँ एसियाली च्याम्पियनसिपमा कास्य पदक जितिन् । तेक्वान्दो खेल्न सुरु गरेको ७ वर्षमा रञ्जनाले ६ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरिन् र पाँचवटा पदक जितिन् । जोर्डनमा भएको छैटौं च्याम्पियनसिपमा भने पदक जित्न सकिनन् ।
सन् २०२० मा जापानमा हुने भनिएको ओलम्पिकमा पनि रन्जना सहभागी हुने थिइन् । तर कोभिड महामारीको कारण प्रतियोगिता रद्द हुन पुगयो । ओलम्पिकको इतिहासमा पहिलोपटक पारा तेक्वान्दोलाई समेटिएको थियो । यो प्रतियोगिता २०२१ को अगस्टमा हुने भनिएको छ । त्यसमा सहभागीताबारे निर्णय भएको छैन ।
रञ्जनाले नेपालमा भने आफ्नो क्षमता प्रर्दशन गर्न पाएकी छैनन् । किनभने नेपालमा पारा खेलाडी सहभागी हुने खेल एकदमै कम मात्र हुने गरेको छ । भन्छिन्, ‘पारा खेलाडीलाई सरकारले नै बेवास्ता गर्छ । हामी बाहिर खेलेर पदक जितेर फर्कन्छौ तर सरकारले कुनै प्रोत्साहन र हौसला नदिँदा मन खिन्न हुन्छ ।’
ओलम्पिक सपना
हर खेलाडीका लागि एक सपना हो ओलम्पिक । खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा खेल्न मात्र पाउनु पनि सानो सफलता र गौरव होइन खेलाडीका लागि ।
अघिल्लो बर्षको ओलम्पिक खेल्ने सपना महामारीले केही धकेलिदिएपनि रञ्जनाले यो सपना थन्क्याएकी छैनन् । उनी हरेक बिहान दशरथ रङ्गशालामा तेक्वान्दोको तालिम लिइरहेकी छन् ।
अबको ओलम्पिकमा भाग लिने र राम्रो नतिजा ल्याउने उनको एकमात्र ध्याउन्न छ । तर कलेज, जागिर लगायत कारणले पूरै खेलमा मात्र लाग्न नभ्याउँदा राम्रो प्रदर्शनको सपनामा धक्का लाग्ने हो कि भन्ने डर पनि छ ।
सरकारसँग उनको आग्रह छ । भन्छिन्, ‘राष्ट्रियस्तरका खेलाडीलाई सरकारले थोरै भएपनि खर्चको व्यवस्था गरिदिए पुरै समय खेलमा मात्र दिन सकिन्थ्यो । त्यसोभए प्रतियोगितामा सहभागिता मात्र होइन राम्रो नतिजा ल्याउन सकिन्थ्यो ।’ उनले थपिन्- ‘तर देशमा त जीवन धान्न नसकेर खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ ।’
गुजाराकै चिन्ता
नेपालमा खेलाडीहरुको जीवन कठिन छ भन्ने कुरा जगजाहेर भएको उनी बताउँछिन् । पारा तेक्वान्दोमा अन्तराष्ट्रिय स्तरमै देशो नाम राखेकी उनी घरखर्च र पढाईखर्च जुटाउन हम्मेहम्मे छ ।
पद्यकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत उनी ‘डाइभर्स प्याटर्न’ नामक संस्थामा काम गर्छिन् । यो उनीजस्तै अपाङ्गता भएका ब्यक्तिहरुले चलाएको संस्था हो । अपाङ्गता भएका कारण परिवार र आफन्तबाट हेलाँ र हिंसा उनले खेप्नुपरेको छैन तर गुजाराका लागि जागिर खोज्ने क्रममा धेरैपटक उनी निराश हुनुपरेको बताउँछिन् ।
काम गर्न सक्ने योग्यता र क्षमता हुँदा पनि हात नभएकै कारण उनले धेरै अवसर गुमाएकी छन् । अन्तर्वाताका लागि बोलाएका कति अफिसमा हात नभएको कारण देखाउँदै जागिर दिन नसक्ने भनेर फर्काएका छन् । यो सम्झिँदा उनलाई दुख लाग्छ । नलागोस् पनि किन र ?
‘मैले आफुलाई प्रमाणित गर्न नपाउदै मानिसहरु मुल्याङ्कन गर्न भ्याइहाल्छन् । मलाई हात नहुँदैमा गर्न सकिँदैन भन्ने लाग्दैन । तर मानिसहरु मेरो क्षमतामा विश्वास गर्दैनन्’ उनी गुनासो पोख्छिन्- ‘काम दिएपछि मात्र मुल्याङ्कन गरिदिए हुने नि ।’








