सपनाले भरेको उडान

हरेक मानिसको आफ्नै कथा हुन्छ भनिन्छ । त्यस्तो कथा जसले जिन्दगीको गोरेटो पहिल्याउन सघाओस् । त्यस्तो कथा जसले सफलताको चुचुरो चुम्न होस्टे हैंसे गरोेस् । जीवनमा केही यस्ता कुरा हुन्छन् जसले समस्या र चुनौतीका चाङ् छिचोलेर अघि बढ्न हौसला दिन्छन् ।

रञ्जना धामीले गरेको संघर्ष र प्राप्त गरेको सफलता जो कोहीले सजिलै प्राप्त गर्न नसक्ने खालको छ । सबैलाई आफ्नो क्षमतामाथि रञ्जनालाई झै बिश्वास नहुन सक्छ, न त उनको झैं लगातार अघि बढ्ने शाहस नै ।

बाराको निजगढमा जन्मिएकी रञ्जना आमभन्दा फरक अवस्था लिएर जन्मिइन् । उनको जन्मजात दाहिने हात काटिएको थियो । परिवारकी जेठी छोरी अपाङ्गता लिएर जन्मिंदा बुबाआमालाई पनि नरमाइलो लाग्यो नै । मेरो कारण बा आमा दुखी बन्नुपर्यो भन्ने सम्झँदा रञ्जनालाई त्योभन्दा बढी नरमाइलो लाग्दो रहेछ ।

‘पहिलो बच्चाले बा आमालाई खुशी ल्याउनुपर्नेमा मैले उहाँहरुलाई दुखी बनाएँ यो सम्झँदा मलाई पनि नमज्जा लाग्छ तर के गर्ने यो मेरो रहरको कुरा थिएन ।’ रञ्जना भन्छिन् ।आफ्नो एउटा हात नभएको कुरा उनलाई चार वर्षको उमेरमा थाहा भयो । थाहा भएर पनि उपाय के नै थियो र ? जीवन टक्क रोक्न सकिंदैनथ्यो । बास्तविकतालाई स्वीकार गर्नैपथ्र्यो । बुबा चितवन राष्ट्रिय निकुञ्जमा जागिरे भएकाले उनको परिवार चितवन बसाईँ स-यो । रञ्जना सौराहा मै हुर्किईन् । पाँच वर्षसम्म उनको परिवार सौराहामा बस्यो । त्यहीं उनले साईकल चलाउन सिकिन् ।

रन्जना सम्झिन्छिन्, ‘हरियो रङ्को अग्लो साइकल हुन्थ्यो । म त बुढो साइकल भन्छु त्यसलाई… हो, सुरुमै त्यस्तो साइकल सिकेको मैले । मान्छे चकित परेर हेर्थे । म बच्चै थिएँ, त्यसमाथि एउटा हात नभएको । अचम्म मान्नु स्वभाविक नै हो ।’
२०५५ सालमा रञ्जनाको परिवार निजगढ स-यो । बुबा श्रीनारायणले ब्यक्तिगत कारणले निकुञ्जको जागिर छोडेका थिए ।
बुबाको हातमा सिप थियो । गाडी चलाउन थाले ।

२०६१ सालमा रञ्जना स-परिवार ललितपुरको खुमलटारमा बस्न थालिन् । १० कक्षासम्मको पढाइ सक्न चारवटा विद्यालय फेर्नुपर्यो । जसले गर्दा उनको पढाई २ बर्ष ढिला पनि भयो । परिवारले झेलिरहेको आर्थिक समस्याको कारण यति धेरै विद्यालय फेर्नुपरेको उनी बताउँछिन् ।

रन्जनाले २०६९ सालमा मेरीवार्ड उच्च मावि लुभुबाट एसएलसी पहिलो श्रेणीमा पास गरिन् । गणितमा कमजोर भएकाले पहिलो श्रेणी आउने आश थिएन तर उनी स्वयम, परिवार र सिंगो विद्यालयलाई नै दङ्ग बनाउने गरिको नतिजा आयो ।

अनि बाटो मोडियो
रञ्जनाले १२ कक्षा ललितपुर कुमारीपाटीको ब्लुबर्ड कलेजबाट उत्तिर्ण गरिन् । ठ्याक्कै यही समयमा उनको खेल जीवन पनि सुरु भयो । यो उनले सोच्दै नसोचेको कुरा थियो । नसोचेको विषयको कुनै योजना हुने कुरै भएन ।

१२ कक्षाको अन्तिम परीक्षा सकिएपछिको एकदिन उनकी साथीले चाबहिलमा रहेको दृष्टिविहिनहरुको एउटा संस्थामा जान सहयोग मागिन् । त्यो दिन उनको लागि सबैभन्दा ठूलो मोड बनेर आइदियो । जसले, एकातिर हिंडिरहेको उनको जीवनलाई फनक्कै अर्कोतिर फर्काइदियो ।

साथीसंगै पुगेकी उनले त्यहाँ एकजना महिलालाई भेटिन् । जसको नाम अहिले उनलाई थाहा छैन । ति महिलाले एकजना खेलाडीको सम्पर्क नम्बर रञ्जनालाई दिइन् । रञ्जना ती महिला खेलाडीलाई भेट्न गइन् । उनलाई ती खेलाडीको नाम पनि अहिले हेक्का छैन तर, उनको पनि एउटा हात नभएको भने बिर्सेकी छैनन् ।

उनीसँगको भेटमा रञ्जनाले खेल र अपाङ्गता भएका मानिसको खेलकुदमा सहभागीताबारे धेरै कुरा बुझ्न पाइन् । जसले उनलाई खेलप्रती चासो मात्र बढाएन उनले खेल जगतमा प्रवेश गर्ने निधो नै गरिन् ।

त्यही क्रममा रञ्जनाको भेट तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कल्याण कुँवरसँग भयो । यो अवसर लोकेन्द्र आचार्यले जुराइदिएका थिए । लोकेन्द्र पनि रञ्जनाका गुरु हुन् । रन्जनाले कल्याणलाई भेटेको एक हप्ता मात्र भएको थियो । कल्याणले रञ्जनालाई तेक्वान्दो तालिमका लागि दशरथ रङ्गशाला बोलाए । यसरी, रञ्जना तेक्वान्दोमा प्रवेश गरिन् । यो सन् २०१५ को कुरो हो ।
‘तेक्वान्दोमा हातभन्दा पनि खुट्टाको धेरै काम हुने थाहा पाएपछि मैले तेक्वान्दो खेल्ने निर्णय गरेँ र मलाई तेक्वान्दो सिक्न धेरै समय पनि लागेन’ उनी भन्छिन् । तालिम नि:शुल्क थियो ।

लगालग सफलता
तेक्वान्दो सुरु गरेकै वर्ष रञ्जनाले अन्तराष्ट्रिय खेल जगतमा पाइला टेक्ने अवसर पाइन् । रुसमा भएको ‘आईवाज गेम’ प्रतियोगिताका लागि रन्जना छानिइन् । अपाङ्गता भएका व्यक्तिका लागि आयोजना गरिएको प्रतियोगितामा ३४ देशका खेलाडी सहभागी थिए ।

रञ्जनाको खेल जीवनको शुरुवातमै सहभागि हुन पाएको अन्तराष्ट्रिय प्रतियोगिताले उनलाई धेरै कुरा सिकायो । रन्जनाले सम्झिन्छिन्, ‘पहिलो खेल त्यो पनि रसियामा खुशीको सिमा नै थिएन । प्लेन चढ्न पाउने भनेर खुब रमाइलो लागेको थियो । घरबाट सधै सहयोग र हौसला दिनुहुन्थ्यो । सबै खर्च तेक्वान्दो महासंघले नै बेहोर्ने भएकाले पनि खर्चको चिन्ता थिएन ।’
उनी तेस्रो भइन् । भर्खरै शुरु गरेको खेलमा यत्रो सफलता ! एसएलसीको नतिजा जस्तै आफैंलाई विश्वास नलाग्ने जस्तो नतिजा थियो ।

फर्किएपछि रञ्जनालाई तेक्वान्दो महासंघले १० हजार रुपैयासहित सम्मान ग-यो । खुशी थपिंदो थियो । सन् २०१६ मा फिलिपिन्समा भएको दोश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा रञ्जना नै छनोट भइन् । त्यहाँ उनले दोश्रो स्थान हासिल गरिन् ।

अर्को बर्ष २०१७ मा कोरियामा भएको एसियाली च्याम्पियनसिपमा उनी भइन् । त्यहि वर्ष बेलायतमा भएको वल्र्ड पारा तेक्वान्दो च्याम्पियनसिपमा उनी तेश्रो हुँदै कास्य पदक जित्न सफल भईन् ।

त्यसपछि पोल्यान्डमा भएको पाचौँ एसियाली च्याम्पियनसिपमा कास्य पदक जितिन् । तेक्वान्दो खेल्न सुरु गरेको ७ वर्षमा रञ्जनाले ६ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरिन् र पाँचवटा पदक जितिन् । जोर्डनमा भएको छैटौं च्याम्पियनसिपमा भने पदक जित्न सकिनन् ।

सन् २०२० मा जापानमा हुने भनिएको ओलम्पिकमा पनि रन्जना सहभागी हुने थिइन् । तर कोभिड महामारीको कारण प्रतियोगिता रद्द हुन पुगयो । ओलम्पिकको इतिहासमा पहिलोपटक पारा तेक्वान्दोलाई समेटिएको थियो । यो प्रतियोगिता २०२१ को अगस्टमा हुने भनिएको छ । त्यसमा सहभागीताबारे निर्णय भएको छैन ।

रञ्जनाले नेपालमा भने आफ्नो क्षमता प्रर्दशन गर्न पाएकी छैनन् । किनभने नेपालमा पारा खेलाडी सहभागी हुने खेल एकदमै कम मात्र हुने गरेको छ । भन्छिन्, ‘पारा खेलाडीलाई सरकारले नै बेवास्ता गर्छ । हामी बाहिर खेलेर पदक जितेर फर्कन्छौ तर सरकारले कुनै प्रोत्साहन र हौसला नदिँदा मन खिन्न हुन्छ ।’

ओलम्पिक सपना
हर खेलाडीका लागि एक सपना हो ओलम्पिक । खेलकुदको कुम्भ मेला मानिने ओलम्पिकमा खेल्न मात्र पाउनु पनि सानो सफलता र गौरव होइन खेलाडीका लागि ।

अघिल्लो बर्षको ओलम्पिक खेल्ने सपना महामारीले केही धकेलिदिएपनि रञ्जनाले यो सपना थन्क्याएकी छैनन् । उनी हरेक बिहान दशरथ रङ्गशालामा तेक्वान्दोको तालिम लिइरहेकी छन् ।

अबको ओलम्पिकमा भाग लिने र राम्रो नतिजा ल्याउने उनको एकमात्र ध्याउन्न छ । तर कलेज, जागिर लगायत कारणले पूरै खेलमा मात्र लाग्न नभ्याउँदा राम्रो प्रदर्शनको सपनामा धक्का लाग्ने हो कि भन्ने डर पनि छ ।

सरकारसँग उनको आग्रह छ । भन्छिन्, ‘राष्ट्रियस्तरका खेलाडीलाई सरकारले थोरै भएपनि खर्चको व्यवस्था गरिदिए पुरै समय खेलमा मात्र दिन सकिन्थ्यो । त्यसोभए प्रतियोगितामा सहभागिता मात्र होइन राम्रो नतिजा ल्याउन सकिन्थ्यो ।’ उनले थपिन्- ‘तर देशमा त जीवन धान्न नसकेर खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ ।’

गुजाराकै चिन्ता
नेपालमा खेलाडीहरुको जीवन कठिन छ भन्ने कुरा जगजाहेर भएको उनी बताउँछिन् । पारा तेक्वान्दोमा अन्तराष्ट्रिय स्तरमै देशो नाम राखेकी उनी घरखर्च र पढाईखर्च जुटाउन हम्मेहम्मे छ ।

पद्यकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत उनी ‘डाइभर्स प्याटर्न’ नामक संस्थामा काम गर्छिन् । यो उनीजस्तै अपाङ्गता भएका ब्यक्तिहरुले चलाएको संस्था हो । अपाङ्गता भएका कारण परिवार र आफन्तबाट हेलाँ र हिंसा उनले खेप्नुपरेको छैन तर गुजाराका लागि जागिर खोज्ने क्रममा धेरैपटक उनी निराश हुनुपरेको बताउँछिन् ।काम गर्न सक्ने योग्यता र क्षमता हुँदा पनि हात नभएकै कारण उनले धेरै अवसर गुमाएकी छन् । अन्तर्वाताका लागि बोलाएका कति अफिसमा हात नभएको कारण देखाउँदै जागिर दिन नसक्ने भनेर फर्काएका छन् । यो सम्झिँदा उनलाई दुख लाग्छ । नलागोस् पनि किन र ?

‘मैले आफुलाई प्रमाणित गर्न नपाउदै मानिसहरु मुल्याङ्कन गर्न भ्याइहाल्छन् । मलाई हात नहुँदैमा गर्न सकिँदैन भन्ने लाग्दैन । तर मानिसहरु मेरो क्षमतामा विश्वास गर्दैनन्’ उनी गुनासो पोख्छिन्- ‘काम दिएपछि मात्र मुल्याङ्कन गरिदिए हुने नि ।’

प्रतिक्रिया