मर्यादित श्रमको वातावरण निर्माण होस् : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन् ।
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध पक्षको ध्यान आकृष्ट गरेका छन् ।
‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्दछ । समष्टिमा पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मलाई लाग्दछ’ सन्देशमा भनिएको छ ।
मुलुक मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यतालाई संवैधानिक रूपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणका दिशामा अग्रसर बनेको परिस्थितिमा श्रमको सम्मान‚ सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षा‚ आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिकलगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सिर्जना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको जनाउँदै राष्ट्रपतिले यसका प्रतिफल क्रमशः प्राप्त पनि भइरहेको बताएकी छन् । यी सार्थक पहलबाट गरिबी उन्मूलनका साथै सामाजिक सुरक्षाको प्रत्याभूति सहित ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई सार्थक तुल्याउन सम्भव हुने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
विश्वुव्यापी महामारीक रूपमा फैलिएको कोभिड–१९को दोस्रो लहरका कारण देशमा पुनस् सङ्क्रमण बढ्दै गएको हुँदा यसको फैलावटलाई तोड्न नेपाल सरकारले विभिन्न शहर एवं जिल्लामा निषेधाज्ञा जारी गरेबाट जनजीवनमा केही अप्ठ्यारो स्थिति सिर्जना भए तापनि जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्न र निषेधाज्ञाका नियमह कडाका साथ अवलम्बन गर्न पनि राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गरेकी छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसले रोजगारीको सिर्जना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।
यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले पनि शुभकामना दिएका छन् । उनीहरुले श्रमिकको अधिकार रक्षाको माग गर्दै कोरोना संक्रमणको त्रासबाट बच्न सबैसँग आग्रह गरे ।
श्रमिक तथा मजदुर वर्ग कोरोनाको महामारीका सबैभन्दा बढी समस्यामा परेको भन्दै उनीहरुले अहिले महामारीको दोस्रो लहर तिब्र गतिमा बृद्धि भइरहेकाले लकाडाउन तथा निषेधाज्ञा जारी हुँदा देश विदेशमा काम गरिरहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएको बताएका छन् । ‘श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा समेत कठिनाई भोग्नुपरेको छ । राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्दछ । त्यसकारण नेपाल सरकारले कोरोनाको समस्याबाट प्रभावित श्रमिक तथा मजदुरको उचित व्यवस्थापन तथा रोजगारीका लागि विशेष कार्यक्रम ल्याउनु पर्दछ,’ राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले श्रमिक वर्गका अगाडि कोभिड-१९ सँगै भोकमरीबाट बाँच्नु पर्ने चुनौती रहेको बताएका छन् । ‘कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था छ । रोजगारीका लागि देश बाहिर पुगेका हजारौं नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन । यस्तो कठिन अवस्थामा राज्यका तर्फबाट श्रमजीवी मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनु आवश्यक छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








