आयोगले तोक्यो राष्ट्रिय सभा उपनिर्वाचन मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार आयोगले शुक्रबार केन्द्र तोकेको हो । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको छ,’ श्रेष्ठले भनेका छन् ।

आयोगद्वारा जारी विज्ञप्तिकाअनुसार भुटनदेवीमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकेको हो ।

गत वर्षको फागुन २३ गते विधिवत् रुपमा एमालेमा प्रवेश गरेपछि माओवादी सांसद रामबहादुर थापा ‘बादल’ कारबाहीमा परेका थिए । तत्पश्चात् बादल कारबाहीमा परेसँगै बागमती प्रदेश सभा सदस्य रिक्त थियो ।

यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया