संयुक्त राष्ट्रंघले कोभिडविरुद्ध लड्न भारतलाई सघाउने

नयाँ दिल्ली । संयुक्त राष्ट्रसंघले कोभिड- १९ संक्रमणविरुद्ध लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड- १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकाले राष्ट्रसंघले यसविरुद्ध भारतलाई सघाउने भएको हो ।

संयुक्त राष्ट्रसंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह अहिले भारत पुगेको छ । साथै राष्ट्रसंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरू भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरू खरिद गरेर पठाएको बताएका छन् ।

त्यस्तै भारतका अस्पतालहरूमा आवश्यक भेन्टिलेटरहरू पनि पठाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले भारतलाई पीपीई, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरू तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ति अस्पतालहरु राखिएका छन् ।

ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्थ्य उपचार पनि उपलब्ध गराइएको बताइएको छ ।

भारतमा हाल कोभिडको अवस्था निकै तीव्र गतिमा वृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तिमा पनि दुई हजार मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

प्रतिक्रिया