सरकारले लकडाउनमा आफ्नो दायित्व भुल्न हुँदैन : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले सरकारलाई लकडाउनमा आफ्नो दायित्व नभुल्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले मंगलबार एक विज्ञप्ति जारी गर्दै लकडाउनमा सरकारले आफ्नो दायित्व नभुल्न भन्दै सरकारलाई ५ बुँदे सुझाव दिएका हुन् ।

कोरोना परीक्षणलाई व्यापक बनाई कन्ट्याक्ट ट्रेसिङमा जोड दिनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गनुपर्ने, कोभिड १९ विरुद्धको खोप केन्द्रहरुमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भीडभाड नियन्त्रण गनुपर्नेलगायतका सुझावहरू दिइएको छ ।

यस्ता छन् ५ बुँदे सुझाव :

१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान । अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता ।

२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड ।

३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन ।

४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख ।

५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोल पूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण ।

प्रतिक्रिया