छवि-शिल्पा झगडा: सञ्चार माध्यममा पोल खोलाखोल

काठमाडौँ । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको विषय पछिल्लो समय चर्चामा छ । छविविरुद्ध शिल्पाले अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको २ वर्ष भएको छ । उनले यो समयमा आफ्नो खर्चबापत पतिले बेहोर्नुपर्ने माना चामल समेतको माग राखेकी छन् । अन्य विषय पन्छाएर हेर्ने हो भने- एक श्रीमतीले सम्बन्धबिच्छेद गर्नुअघि दाबी गरेका सबै दाबी गर्ने अधिकार नेपालको कानुनले शिल्पालाई दिएको छ ।

कानुनी र सामाजिक रूपमासमेत छविसँग विवाहित भएका कारण शिल्पाको हक सम्पातिमाथि पनि छ । र, सम्बन्ध विच्छेदको मुद्दा नाजायज छैन । छवि भने विभिन्न कार्यक्रममा पुगेर ‘रेखाले त एक पैसा लग्नुभएन । अझ मलाई घर र गाडी छोडिदिनुभयो’ भन्दै हिँडेका छन् । उनले शिल्पा, पैसाको पछि लागेको आरोप समेत लगाएका छन् । त्यस्तै विवाह सुनियोजित भएको पनि उनको आरोप छ । उनको तर्क छ, ‘सम्बन्ध विच्छेद गर्नुभन्दा ६ महिनाअघि मात्रै विवाह दर्ता गरेकै शिल्पाले उनलाई फसाउन हो रे !  अझ हास्यास्पद कुरा त, भोजपुरी चलचित्र खेलिरहेकी उनलाई मैले किन खाने व्यवस्था गरिदिनु रे !’ कानुन भन्दामाथि त कोही जान मिल्दैन होला ।

शिल्पाले पनि कानुनले दिएको हक दाबी गर्न पाउँछिन् । एक श्रीमती भएको हैसियतले सम्बन्ध विच्छेदको समयमा श्रीमानले हिंसा गरेको आरोप प्रमाणित भएमा शिल्पाले दाबी गरेको सबै विषय सम्बोधन हुनुपर्छ । त्यति मात्रै होइन, ६ महिनाअघि गरेको विवाह दर्ताको कागज मात्रै नभएर विवाहको तस्बिर, विवाहका साक्षीलाई समेत विवाहको प्रमाण मानेर विवाह भएको मान्छ नेपाली कानुनले । यसमा फसाउनकै लागि विवाह दर्ता गरेको भन्नु आधारहीन देखिन्छ ।पहिलेको विवाहका विषयमा शिल्पा र छवि दुवै अन्जान भएको बताएका छन् । छविको पहिलो श्रीमती हेमा ओझासँग सम्बन्ध विच्छेद नभएकोले यो विषय आउन जरुरी भएपनि शिल्पाको सकिएको सम्बन्धको कानुनी रूपमा कुनै पनि अर्थ रहँदैन । रेखा थापासँग सम्बन्ध विच्छेद गरेलगत्तै शिल्पासँग गरेको विवाहको कानुनमा कुनै पनि सम्बन्ध छैन । यति हो शिल्पा, छविको ऋण धनको बराबर भागी भने बन्नु पर्छ । बाँकी फैसला त अदालतले गर्ने नै छ ।

मिडियाबाजी
पहिला पनि सञ्चारमाध्यम छवि र शिल्पाको विषयमा दुई भागमा विभाजित भएकै हो । अहिलेको स्थिति पनि त्यही नै छ । अझ अहिले त कलाकारको समूह पनि आफ्ना–आफ्ना समूह बनाउँदै समर्थक र विरोधी बनेका छन् । कति कलाकार छविको समर्थनमा छन् भने कति शिल्पाको ।

सुरुमा यो विषय सञ्चारमाध्यममा आयो, शिल्पा रुँदै बिलौना पोख्न आइन् । उनले सम्पत्तिको लागि विवाह र सम्बन्ध विच्छेद नगरेको भएर हिंसा सहन नसकेर छुटिन खोजेको बताइन् । उनका आँसु खुब बिके । उनको विराटनगरको फ्याक्ट्रीदेखि पुस्तैनी सम्पत्तिसम्मको चर्चा भयो । छविलाई खाना पकाएर खुवाएको स्याहार गरेकोसम्म उनले मिडियामा खोल्न भ्याइन् । घटना विवरण समेटेर उनले फिल्मी तरिकामा आफूमाथि भएको हिंसाको पनि व्याख्या गरिन् । सबैको सहानुभूति बटुलिन् । कुरा यतिसम्म बढ्यो की, अभिनेत्री गीताञ्जली सुनारको मृत्यु थियो या आत्महत्या भन्नेसम्मको आरोप छविमाथि लाग्यो । .यस विषयमा एक नायिकाले अहिले पनि घुमाउरो तरिकाले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आएकी छन्) । छवि गुमनाम थिए । सामाजिक सञ्जालमार्फत उनले शिल्पालाई टेबुल टक गर्न आग्रह गरिरहे ।दुई वर्षपछि छवि मिडियामा आएका छन् । अहिले उनले पहिला शिल्पाले उनको चरित्र हत्या गरे झैँ शिल्पाको विगत कोट्याउँदै हिँडेका छन् । उनले आफूसँग दोस्रो विवाह गर्दा ढाटेको आरोप लगाएका छन् । अरूसँग आफ्नी श्रीमती नाच्दै हिँडेको (छायांकन बाहेक)भन्ने अभिव्यक्ति दिएका छन् । अझ उनी पनि भान्सा र ओछ्यानसम्मै पुगेका छन् । मैले ‘शिल्पा जीलाई बेड टी खुवाउँथे’ । ‘एउटा सानो मसी बनाउने कुटीर उद्योग मात्रै थाहा छ मलाई, सम्पत्ति भए मेरो सम्पत्ति किन माग्नु ?, मैले चैँ इज्जत, पैसा, श्रीमती सबै गुमाउनु’ भन्ने प्रकारका सस्ता प्रसङ्ग उठाउन थालेका छन् ।

उनीहरू आफै आफ्नो घरायसी मामलाको विषयमा मसला थप्दै आफैलाई दर्शक माझ गिराउँदै लगेका देखिन्छन् । सञ्चार माध्यमले व्यक्तिगत विषय बाहिर ल्यायो भन्ने कलाकारहरू नै आफू नाङ्गिन आफ्ना घरायसी कुरा लिएर सञ्चार माध्यम सम्म पुग्दैछन् ।

व्यवहारिकता
छुटिन चाहेपछि उनीहरुले आपसी समझदारीमै समस्या समाधान गरेर सम्बन्ध टुङ्ग्याएको भए हुने थियो । त्यसो नभए पनि कम्तीमा सञ्चार माध्यमलाई आफ्नो व्यक्तिगत विषय छताछुल्ल पार्ने स्थान नबनाएको भए हुन्थ्यो । तर त्यसो भएन । यी दुईले नै आफ्नो समाजमा रहेको इज्जतलाई बचाउन जानेनन् । यसको फाइदा फेरी पनि सञ्चार माध्यमको टिआरपी र युट्युब च्यानलले लिइरहेका छन् । अनि, छवि र शिल्पामार्फत समग्र सिने र कलाकारिता क्षेत्रकै वजन हलुका भइरहेको छ ।

प्रतिक्रिया