जसपा नेताहरु छलफलमा, जुट्ला सहमति ?

काठमाडौं । जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको छलफल जारी छ । पार्टी कार्यालय बालकुमारीमा चलिरहेको बैठकमा पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत सहभागी छन् । बैठक बसिरहेको जानकारी दिँदै जसपा नेता मोहम्मद इस्तियाक राईले भने– ‘बैठक वर्तमान राजनीतिक समस्या समाधानका लागि हो ।’

जसपाभित्र केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवाद प्रधान देखिँदै आएको छ । तत्कालीन समाजवादी पार्टीका द्वयनेता भट्टराई र यादव ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नैपर्छ भन्ने पक्षमा देखिँदा तत्कालीन राजपा द्वयनेता राजेन्द्र महतो र महन्थ ठाकुर आफ्नो माग पूरा गरेको खण्डमा ओली नेतृत्वको सरकारमै जाने दोहोर्याउँदै आएका छन् । प्रदेशमा भने तत्कालीन राजपाले यो सन्दर्भ देखाइसकेको छ । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमै सामेल भएर तत्कालीन राजपाले यो छनकलाई पुष्टि गरेको हो । त्यहाँ मुख्यमन्त्री पोखरेलले आफू अल्पमतमा परेपछि ४ जसपा नेताहरुलाई फकाएर मन्त्री बनाएका थिए । त्योसँगै मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले निरन्तरता पाएको छ ।

नयाँ सरकार गठनको निर्णायक जसपा आफ्नै आन्तरिक किचलोमा अड्किरहेको छ । लामो समयदेखि अनिर्णयको बन्दी बनेको जसपाले यो बैठकबाट भने निष्कर्ष निकाल्ने अपेक्षा राखिएको छ । नेताहरूबीच अहिले भइरहेको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने सम्भावना रहेको एक जसपा नेताले मकालु खबरलाई जानकारी दिए । ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ ।

प्रतिक्रिया