सकियो चैतली मेला (तस्बिरहरू)

बझाङ । छबिस पाथिभेरा क्षेत्रमा बर्सेनि लाग्ने सुदूरपश्चिम क्षेत्रकै विशाल मेला चैतली समापन भएको छ । कोभिडको जोखिमका कारण यसपटक तुलनात्मक रुपमा सीमित सहभागितामा मेला सम्पन्न भएको हो ।

सधैं यो मेलाका लागि सुदूरपश्चिम क्षेत्रमा मष्टो पूजा गर्नेहरू हजारौंको संख्यामा उपस्थित हुने गरेकोमा यसपटक भने कोभिड जोखिमका कारण उपस्थिति कम भएको थियो । चैत २९ गतेदेखि शुरु भएको चैताली मेला वैशाख १२ गते आइतबार समापन गरिएको हो ।
https://youtu.be/eo5iGswQ16w

परापूर्व कालमा शक्तिशाली दानव मयकासुरले मष्टोलाई कैद गरेको र कैदबाट मुक्त गर्न मष्टोका दिदीहरुले प्रेमलगायत अनेक उपाय अपनाएर विजय प्राप्त गरेको सम्झना र सन्दर्भसँग यस मेलालाई जोड्ने गरिन्छ ।

मष्टोका १६ जना दिदीहरू रहेको र मयकासुरको कब्जामा रहेका भाइलाई छुटाउन कान्छी दिदीले मयकासुरसँग प्रेमको अभिनय गरेको र पछि मयकासुरको वध गर्न उच्च हिमाली भेगबाट अग्ला रुखको काँकर (लिंगो) ल्याएर छातीमा रोपेको कथा पनि प्रचलित छ ।

काँक्रे औँसीको रात काँकर बनाउने रुखको जरामा बोकाको बली दिएर भोलिपल्टदेखि काँकर तान्दै ल्याउने गरिन्छ । यस्तै राक्षस बसेको ठाउँ मानिने तोल्यानीमा राक्षसको छातीमा उक्त काँकर रोपेको मान्यताअनुसार लिंगो ठाडो पारेर लैजाने र राक्षसको टाउको काटेको प्रतिबिम्बको रुपमा छालाको भकुन्डो खेल्ने तथा तल्लो र माथिल्लो छबिसका बासिन्दाबीच तानातान गर्ने प्रचलन पनि छ ।

पूजामा बर्सेनि दशौं हजार जना सहभागी हुने भएपनि यसपटक सीमितमात्र भक्तजन सहभागी भएका थिए । मेलामा भारतबाट समेत व्यापारी आउने गरेकोमा यसपटक उनीहरुलाई बन्देज गरिएको थियो ।

प्रतिक्रिया