कोभिडका बीच मानव तस्करी : चोरबाटोको प्रयोग, ३७ जनाको उद्धार

विराटनगर । माइती नेपालले एक वर्षको अवधिमा मानव तस्करीका लागि लैजाँदै गरेका ३७ जनाको उद्धार गरेको छ । माइती नेपालले विराटनगरको रानी नाकामा भएको उद्धारको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ संक्रमणका बिच चोर नाकाबाट आउजाउ गर्नेहरूलाई निगरानी गर्ने क्रममा उद्धार गरिएको उल्लेख गरेको हो ।

मुख्यनाका बन्द भएपनि बोर्डरसँगै जोडिएका चोरबाटोमा निगरानी गर्दा ३७ जनाको उद्धार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उद्धार गरिएका ३७ जनामध्ये २६ जना किशोरी तथा बालिका रहेको र ११ जना महिला रहेको माइती नेपालका कार्यक्रम संयोजक बिनोद पोखरेलले जानकारी दिए ।

माइती नेपालबाट उद्धार भएका ३७ जनामध्ये सिन्धुपाल्चोक, सोलुखुम्बु, उदयपुर, खोटाङ, चितवन, बारालगायत जिल्लाबाट भारत जाँदै गरेका महिला र बालबालिका रहेको माइती नेपालले जनाएको छ । उद्धार गरिएकाहरूमध्ये अधिकांश बालिका छन् ।

No description available.

एक वर्षमा हराएको भनेर १५ जनाको निवेदन माइती नेपालमा परेकोमा ६ जना फेला परेको संयोजक पोखरेलले जानकारी दिए । माइती नेपालमा बलात्कारका ११, घरेलु हिंसाका २५ जनाको उजुरी परेको छ । कोभिडका बेला बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि भएको छ । गतवर्ष बलात्कारको घटना ७ वटा र घरेलु हिंसाको १८ वटा उजुरी परेकोमा यो वर्ष वृद्धि हुनुलाई कोभिडका बिचमा घटेका घटनाको वृद्धिदरलाई लिइएको पोखरेलको दाबी छ ।

यस्तै ईलाका प्रशासन कार्यालय उर्लावारीमार्फत् वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय २४ जनालाई सुरक्षित वैदेशिक रोजगारीको सूचना प्रवाह गराइएको छ । माइती नेपालले मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि गाउँघर अभियानसमेत संचालन गर्दै आएको छ । नेपाल प्रहरी, विद्यार्थी, कानुन व्यवसायी, यातायात व्यवसायी, आमा समूह, बाल क्लब तथा विभिन्न गैह्रसरकारी संस्थासँग मानव बेचबिखन न्यूनीकरण अभियानका कार्यक्रम गरिएको पोखरेलले बताए ।

यसरी मानव तस्करीको फेरिँदो स्वरुप
भारतसँग सीमा जोडिएका नाकाहरुमा मानव ओसापसारका घटनासँगै तस्करीको स्वरुपमा परिवर्तन हुँदै जान थालेको यो क्षेत्रमा काम गर्नेहरु बताउँछन् । पछिल्लो एक वर्षलाई आधार मान्ने हो भने माइती नेपालले उद्धार गरेका महिलालाई जागिरको प्रलोभन, वैदेशिक रोजगारी, अध्ययनका लागि समेत लगेर बेचबिखन गर्ने गरेको पाइएको छ । त्यस्तै मानव तस्कर गर्ने गिरोहले महिला र बालबालिकालाई फेसबुक, भाइबर, ईमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर फकाउने गरेको समेत अनुसन्धानबाट खुलेको पोखरेलले बताए ।

प्रतिक्रिया