उपत्यकाका तीन सीडीओको एउटै भनाइ– तत्काल लकडाउन हुँदैन

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर शुरुसँगै जोखिम बढेको छ । नेपालमा पनि संक्रमित हुने र ज्यान गुमाउने दर दिनहुँ बढिरहेको छ । योसँगै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई कम्तीमा तीन सातासम्म लकडाउन गर्न, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेर निषेधाज्ञा, बन्दाबन्दी, सटडाउनलगायतका कदम चाल्न सक्ने अधिकार दिएको छ ।

कोभिडको संक्रमण बढ्दै जाँदा लकडाउन होला कि नहोला ? भन्ने चासो र चिन्ता बढ्दो छ । यहि चासो र चिन्ताका बिच सोमवार (आज) काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसिरहेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तत्काल लकडाउन नहुने बताए । ‘लकडाउन भनेको रहर होइन, हामी सबैको बाध्यता हो,’ पराजुलीले मकालु खबरसँग भने– ‘भोलि आजभन्दा बढी भयावह स्थिति भयो भने, अस्पतालका शय्याले संक्रमित धानेन भने के गर्ने भन्ने सन्दर्भमा बरु आजै एउटा उत्तम निर्णयमा पुग्नुपर्छ भन्ने हो । यसमा हामीलाई विज्ञहरुको सुझावसमेत प्राप्त भएको छ । बरु एकदुई हप्ता अलिक टाइट गरेर चेन ब्रेक गर्न सकिन्छ कि भन्ने लागेको छ । तर, पनि लकडाउन नै गरिहाल्ने भन्ने होइन । यसबारे औपचारिक र सही निर्णय बैठकले नै गर्नेछ ।’

सबै नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र त्यो भए नभएकोबारे अनुगमन पनि तीव्र बनाइने प्रजिअ पराजुलीले बताए । ‘तीव्र अनुगमन पनि भइरहेका छन् । अनावश्यक अटेर गर्नेहरुलाई होल्डिङ्ग गर्ने, मास्क नलगाउनेलाई मास्क खोइ भनेर सोध्नेलगायतका सुरक्षार्थ अभियान चलाएका छौँ ।’

बैठकले आवश्यक निर्णय गर्ने ललितपुरका प्रजिअ ढुुण्डीप्रसाद निरौलाले मकालु खबरलाई जानकारी दिए । ‘हामी तीनै जिल्लाका प्रजिअहरुको बैठक बस्दैछ,’ निरौलाले भने– ‘त्यहाँबाट यथोचित निर्णय गरिनेछ ।’ लकडाउन हुने/नहुने विषयको निर्क्यौल भने बैठकले नै गर्ने निरौलाले बताए । ‘सम्भवत: अहिले नै लकडाउन नहोला । तैपनि, यसबारे आजको बैठकले निर्णय गर्नेछ ।’

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले पनि तत्काल लकडाउन नहुने संकेत गरेका छन् । उचित निर्णय बैठकबाटै हुने भन्दै भट्टराईले तत्काल लकडाउन नहुने बताए । लकडाउन हुन्छ कि हुँदैन, भए कहिलेबाट हुन्छ ? भन्ने प्रश्नमा भट्टराईले भने– यो विषयमा अहिल्यै बोलिहाल्नुभन्दा पनि बैठकको निर्णय कुर्नु नै उत्तम होला । किनभने यस्तो कुरा व्यक्तिबाट मुखरित हुनुभन्दा पनि बैठकबाटै आएको निर्णय भएमा राम्रो हुन्छ । तर, तत्कालै लकडाउन भने सम्भवतः नहोला ।’

प्रतिक्रिया