‘अटेरी नागरिक र नालायक सरकारका कारण जोखिम बढ्दो’

काठमाडौं । नेपालमा कोभिड-१९ को दोश्रो लहरले भयावह अवस्था सिर्जना गरिरहेको छ । दिनदिनै बढिरहेको जोखिमले थप आतंक सिर्जना गरिरहेको छ । सरकारले लकडाउनलगायत सतर्कताका ठोस कदम चाल्न सकेको छैन । बरु, प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा एमालेले सयौं नागरिक भेला हुने सभा सम्मेलन छलफल र बैठकलाई निरन्तरता दिएका छन् ।

अर्कातिर स्वास्थ्य संरचना बलियो नभएकाले कोभिड संक्रमण दर तिब्र बन्दै जाँदा जोखिम झनै बढ्ने भएकाले आफै सतर्क बन्नुपर्ने जनस्वास्थ्यविदको सुझाव छ । सरकारका नालायकी कदम र नागरिकको अटेरी बानीका कारण कोभिडको महामारी आउन सक्ने खतरा बढेकाले बेलैमा सचेत भएर आफैं जोगिनुको विकल्प नभएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

सरकार नालायक र कमजोर भएर देशले कोरोनाको चपेटाबाट गुज्रिनु परेको उनको दाबी छ । ‘सिमानामा कडाई गर्नुपर्छ । सिमाना खुल्ला छोड्ने अनि काठमाडौंमा लकडाउन गर्नुको औचित्य हुँदैन’ मकालु खबरसँग उनले भने ‘ सरकार  नै नालायक भएर चुकेपछि हामी नागरिक आफै सचेत हुनुको विकल्प छैन ।’

नजिकै गएर, टाउको जोडेर, मुखामुख गरेर गफ गर्ने हाम्रो बानी अहिलेको अवस्थामा घातक हुनसक्ने उनले बताए । ‘भन्दा चित्त दुख्ला तर नागरिकस्तरमा पनि चरम लापरबाही छ’, मरासिनीले भने- ‘मास्क लगाउने र भिडभाड गर्ने काम मात्र नगरेपनि यस्तो जोखिम हुदैन थियो, तर यहाँ कसले भनेको टेर्ने ?’ रोगसँग डरै नभएजस्तो, सबै रोग सार्न अघि सरेको जस्तो देखिने गरेको र यो डरलाग्दो भएको उनको भनाइ छ । ‘अब आफै सुरक्षित भएर घरमा बस्नुको बिकल्प छैन ।’ उनले भने ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य पनि नागरिकको अटेरी बानीले भयावह अवस्था ल्याउन सक्ने खतरा रहेको बताउँछन् । सरकारको निर्णय पनि नागरिकले नटेरेका कारण समस्या बढिरहेको उनको भनाइ छ । ‘विहे, भोज लगायतमा अहिले पनि मानिस डरै नमानि सरिक भइरहेका छन् । जबकी सरकारले भिडभाड नगर्नु, २५ जनाभन्दा बढी मान्छे एकै ठाउमा भेला नहुनु भन्ने निर्देशन दिइसकेको छ’ डा. शाक्य भन्छन् ‘तर यसको पालना भएको छैन, कतिपय त मास्कसमेत नलगाई हिड्ने गरेका छन् । नागरिकको हेलचेक्रयाँइले पनि कोभिड संक्रमण र मृत्युदर बढीरहेको छ । यस्तै हो भने झन् भयानक स्थिती आउनेछ ।’

आफ्नो स्वास्थ्य र जीवनको लागि नागरिक घरमै बस्नुको विकल्प नभएको उनी बताउँछन् । स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने र स्वास्थ्यमा सामान्य समस्या देखिएपनि अस्पताल गइहाल्नुपर्ने उनको सुझाव छ । ‘नागरिकहरु अस्पतालदेखि टाढा बस्न खोजेको जस्तो देखिन्छ । पछिल्लो समय कोरोनाको कारण मृत्यु हुनेहरुमा अधिकांश बिरामीहरु ढिलो अस्पताल आएको पाइएको छ’ डा. शाक्य भन्छन् ‘त्यसैले सामान्य ज्वरो, रुघा, खोकी त हो नि भनेर हेलचेक्रुयाइँ गर्दा ज्यानै जान सक्छ । त्यसैले बेलैमा स्वास्थ्य जाँच गराऔं ।’

प्रतिक्रिया