भारतमा कोरोना कहर : अक्सिजनको हाहाकार

भारतको राजधानी नयाँ दिल्लीलगायत धेरै क्षेत्रमा अक्सिजनको अभावका कारण कोभिड–१९ को संक्रमण झनै भयावह बन्दै गएको छ । कोभिडको दोश्रो लहर तीव्र रुपमा फैलिरहेको भारतमा संक्रमितको उपचारका लागि समस्या झन् झन् बढिरहेको र अवस्था भयावह बनेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीले शुक्रबार २० संक्रमितको मृत्यु भयो । एल एन जेपी जस्ता सरकारी अस्पताल र सरोज र फोर्टिसजस्ता निजी अस्पतालहरूसमेत अक्सिजनको कमीले उत्पन्न भएको अवस्थासँग संघर्ष गरिरहेको खबरहरुमा जनाइएको छ ।
सहयोगविहीन केही अस्पतालले उच्च अदालतसँग गुहार मागेका छन् । पश्चिममा महाराष्ट्र र गुजरातदेखि उत्तरमा हरियाणा र मध्य प्रदेशसम्मका प्रत्येक अस्पतालले अक्सिजनको ठूलो अभाव झेलिरहेका छन् । उत्तर प्रदेशका केही अस्पतालहरुले ‘अक्सिजन आउट अफ स्टक’ लेखेको सूचना राखेका छन् । लखनउको अस्पतालले संक्रमितलाई अन्य अस्पताल जान सुझाव दिन थालेको छ ।
दिल्लीका स–साना अस्पताल र नर्सिङ होमले पनि कोरोनाको बिरामी लिन छाडेका छन् । शहरका धेरै बिरामीले आफ्नै अक्सिजन सिलिन्डरसहित अक्सिजन भर्ने केन्द्र बाहिर लामबद्ध भएर बस्न थालेका छन् ।
हैदराबादमा अक्सिजन प्लान्ट बाहिर जम्मा भएको भीडलाई नियन्त्रण गर्न बाउन्सर बोलाउनुपरेको थियो । हालसालै महाराष्ट्रको नसिक डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजनको कमीले २२ जना बिरामीको मृत्यु भएको छ । सो अस्पतालमा अक्सिजन चुहावट भएको खुलेको छ । घटनाको अनुसन्धान गर्दा अक्सिजनको ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन चुहावट भएर करीब आधा घन्टा अक्सिजनको आपूर्तिमा रोकावट आएको थियो । जसका कारण २२ जना बिरामीको मृत्यु भयो । कोरोनाका बिरामी उपचारका लागि कुर्दा कुर्दै ज्यान गुमाइरहेका छन् ।
संक्रमितलाई बचाउन अस्पतालहरु ठूलो संघर्ष गरिरहेका छन् । अक्सिजन सिलिन्डरको माग गर्दै नागरिक सामाजिक सञ्जालमा अपिल गरिरहेका छन् ।









