जिल्लामा भेन्टिलेटर संचालन गर्ने जनशक्ति छैनन्‚ प्रदेशमा बिरामीको चाप बढ्दै

सुुर्खेत । वैशाख ६ गते रुकुमपश्चिममा एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । भारतबाट आएकी उनलाई ज्वरो र श्वासप्रश्वासमा कठिनाइ भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा थप जटिलता आएपछि उनको मृत्यु भएको थियो । सुर्खेत रिफर गर्नसमेत समय नै नभएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामै भेन्टिलेटरमा राख्न सकिएको भए बचाउन सकिने सम्भावना हुन्थ्यो ।

जनस्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले भएको एउटा भेन्टिलेटर पनि जनशक्ति अभावमा संचालन गर्न नसकिएको बताए । उनले भने, ‘बिरामीमा एक्कासी समस्या हुन्छ । त्यसबेलामा हामीसँग बाहिर पठाउने विकल्प बाहेक अरु हुँदैन । भेन्टिलेटर संचालन गर्ने जनशक्तिको अभाव छ ।’

उनले प्रदेश सरकारमा बारम्बार भनेपनि अहिलेसम्म व्यवस्था नभएको बताए । उनले शुक्रबार एकैछिन अक्सिजनको अभाव हुँदा अन्य अस्पतालबाट ल्याएर व्यवस्थापन गरेको जानकारी दिए । अक्सिजन नेपालगञ्जबाट ल्याउनुपर्ने भएकाले ढिलो आउँदा एकैछिन समस्या भएको उनको भनाए छ ।

दैलेखमा पनि दुईवटा भेन्टिलेटर छन् । तर जनशक्ति अभावमा भेन्टिलेटर संचालनमा ल्याइएको छैन । जनस्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले कोरोना संक्रमित बिरामीमा जटिलता देखिएपछि सुर्खेत रिफर गर्ने गरिएको जानकारी दिए । अहिले दैलेखमा १५ जना संक्रमित छन् ।

प्रदेश अस्पतालमा १५ जनाको भने आइसियूमा राखेर उपचार गरिएको छ । त्यसमध्ये तीनजना भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । यही दरमा कोरोना संक्रमण बढ्दै जाने हो भने अबको एक सातामा प्रदेश अस्पतालमा बिरामी भरिभाराउ हुने चिकित्सकको भनाइ छ । धेरैजसो संक्रमित होम आइसोलेसनमै छन् । प्रदेश अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि आठवटा भेन्टसलेटर र २५ वटा आइसियू बेड छन् ।

कोरोना फोकल पर्सन डा. केएन पौडेल यही दरमा संक्रमितको संख्या बढ्दै गए अस्पतालले थेग्न नसक्ने बताउँछन् । उनले अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए सुर्खेतमा पनि नेपालगञ्जको जस्तै अवस्था आउन सक्ने बताए । उनले गम्भीर प्रकृतिको बिरामीको संख्या बढ्दै गएको जानकारी दिए ।

कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार नौँ सय पुगेको छ । अहिले सुर्खेत, दैलेख र रुकुमपश्चिममा कोरोना संक्रमण बढ्दो छ ।

प्रतिक्रिया