एमालेकाे आकस्मिक बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटीकाे आकस्मिकबैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतवार बिहान १० बजेका लागि बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘बिहान १० बजेका लागि बैठक आह्वान गर्नुभएको छ,’ नेता नेम्वाङ्गले मकालु खबरसँग भने– ‘आजको लागि खास कार्यसूची छैन । समग्र विषयमा छलफल होला ।’

यसअघि कमिटीको बैठक गत १० गते बसेको थियो । उक्त बैठकले विपक्षी एमालेलाई हटाउँदै नयाँ स्थायी कमिटी बनाएको थियो भने कर्णाली प्रदेशका ४ सांसदलाई कारबाही गरेको थियो । अध्यक्ष ओलीले त्यसअघि प्रतिनिधि सभाका २७ र कर्णालीका ५ गरी ३२ सांसदलाई ‘तपाईंहरुलाई कारबाही किन नगर्ने ?’ भनी स्पष्टीकरण सोधेका थिए । जसमा रामकुमारी झाँक्री, योगेशकुमार भट्टराईलगायतका ५ सांसदले स्पष्टीकरण बुझाएका छैनन् । आजको बैठकमा खास रुपमा सोही विषयमा छलफल तथा कारबाहीबारे कार्य स्रोतले मकालु खबरलाई जानकारी दिएको छ । स्रोतले भन्यो– ‘केही सांसदहरुले अध्यक्षज्यूले सोध्नुभएको स्पष्टीकरण बुझाउनुभएको छैन । आज त्यसै विषयमा छलफल तथा कारबाही हुने सम्भावना उच्च छ । अहिले खबर मात्रै आएको छ । कार्यसूचीबारे थाहा छैन । तर, सम्भावना चाहिँ त्यही कुराको छ ।’

यसबीचमा अध्यक्ष ओली र विपक्षी एमालेको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालबीच दुई पटक वान् टू वान् वार्ता भएको थियो । वार्ताबाट कुनै खाले निष्कर्ष निस्केको छैन । नेता नेपालसँग दुई पटक वार्ता गरेपछि नै अध्यक्ष ओलीले कर्णाली प्रदेशका नेपाल पक्षका ४ सांसदलाई कारबाही गरेका थिए ।

यता विपक्षी एमालेले अध्यक्ष ओलीलाई ०७५ जेष्ठ २ मा फर्किए मिलेर जान सकिने बताउँदै आएको छ भने गत वर्षको फागुन २८ गतेयता भएका निर्णयहरु रद्द गर्न भनिरहेको छ । नेपाल पक्षीय नेता रघुजी पन्तले मकालु खबरसँग भनेका छन्– ‘हामी अझैपनि मिल्न चाहन्छौँ । हाम्रो भनाइ कति मात्रै हो भने अब अदालतले हामीलाई पूर्ववत् अवस्थामा फर्काइदियो भने कहाँबाट पार्टीमा नयाँ संरचना चल्छ ? पहिले हामी जो–जो एमालेमा थियौँ, ती साथीहरु मात्रै हुनुपर्यो भनेका हौँ ।’

प्रतिक्रिया