हर ‘अनागरिक’ नागरिकको गीत यो देश मेरो पनि हैन र !

काठमाडौँ । गीतमार्फत अति सशक्त रुपमा विषयवस्तुको उठान गर्ने कलाकारका रुपमा चिनिएको नाम हो प्रकाश सपुत । सपुतले गलबन्दी, बोलमाया, परदेशी, बदला बरिलैलगायत धेरै गीत गाएर मानिसको मन जितेका मात्रै छैनन्, मानिसका दुःख, वेदना र भोगाइसँग आफ्नो सिर्जना जोडेर धेरैका आँखाबाट आँसुसमेत झारेका छन् ।

कलालाई नै जीवन ठानेर अघि बढेका सपुतले गायन, लेखन, निर्देशन, अभिनय सबै विधा सम्हाल्दै आएका छन् । यही क्रममा उनको गीत ‘मेरो पनि यो देश हैन र !’ सार्वजनिक भएको छ ।

रियालिटी शोको कन्सेप्टमा भिडियो बनाइएको छ । रियालिटि शो ‘करोडौँ कस्तुरी’ मा पुगेका सपुतले देशका प्रत्येक नागरिकको व्यथा बोलेका छन् । हिमाल पहाड र तराईका भिन्न भिन्न समुदायका भिन्न भिन्न समस्या बोकेर बसेका नेपालीको व्यथालाई उनले ‘अनागरिक’ समूहमार्फत देखाएका छन् । पहिलेका भिडियोमा झैं उनको प्रस्तुतिमा प्रयोग गरिएको भाषा, शैली र पहिरन बनावटी छैन । रङ्गमञ्चमा नाटक मञ्चन गरिएझैं छ यो प्रस्तुति । प्रत्येक नेपालीले मेरै कथा भनेर प्रशंसा गर्नेछन् ।

पहिला बोल मायामार्फत सारा नेपालीलाई रुहाएका सपुतले गलबन्दीमार्फत हसाउँदै गाउँघरको याद दिलाए । अहिलेसम्म आइपुग्दा उनले मुटुमा धक्का दिने सिर्जना गरेका छन् । गीतमा प्रकाशकै स्वर, शब्द र संगीत रहेको छ । भिडियो कन्सेप्ट र निर्देशन उनकै हो ।

कलाकारको चर्चाको विषयलाई उनले जीवनलाई नै तीन भाग लगाएर हेरेका रहेछन् । असफलता र सङ्घर्ष पहिलो चरण भयो भने दोस्रो चरणमा सफलता र उत्साह । अन्ततः मान्छे फेरि पनि निराशामै फर्किन्छ । उनले अहिलेको उत्साहको समय सदुपयोग गर्दै मनका लागि मनबाट काम गरेको बताउँछन् । उनले गीत दर्शकलाई जिम्मा लगाउँदै आफू पोखिएर हलुङ्गो भएको बताएका छन् । उनको मेहनतलाई दर्शकले सम्मान गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोले युट्युब ट्रेन्डिङमा स्थान बनाएको छ ।

ठूलो समूह लिएर उनले गीत र भिडियो तयार गरेका छन् । श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतमा प्रकाशलाई स्वरमा देवेन्द्र बब्लु, सुनिल विक, विशाल घिमिरे लगायतले साथ दिएका छन् । कोरियोग्राफी प्रदीप हमाल र शेर साउदले सम्हालेका छन् । भिडियोमा राम भजन कामत, भोलाराज सापकोटा, कुलदीप अधिकारी, रविन तामाङ, सरिता लामिछाने, ऋषि धमला, राजु लामा, अमर न्यौपाने, देवेन्द्र बब्लुलगायतको भूमिका रहेको छ । नवराज उप्रेती र रवीन्द्र न्यौपानेले छायाङ्कनको पाटो सम्हालेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् ।

भिडियोमा अमर न्यौपानेको पुस्तक ‘करोडौँ कस्तुरी’ लाई आलङ्कारिक रूपमा समेटिएको छ । पछिल्लो समय रियालिटी शोमा हुने रोना धोनालाई समेत उनले भिडियोमा देखाएका छन् ।

प्रतिक्रिया